फासीवादको प्रतिरोधबाटै क्रान्तिको संभावना – विष्णु पन्त


१. नेतृत्वको अग्निपरीक्षा–
मूल नेतृत्वले धोका दिए पनि नेपालमा दश वर्षे जनयुद्धको उद्देश्यलाई मर्न दिनु हँुदैन भन्ने उद्घोषका साथ २०६९ असारमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पुनर्गठित भएको नेपाल कम्युनिष्ट पार्टी–माओवादीले पनि क्रान्तिका लागि आवश्यक पहलकदमी लिन नसकेको निष्कर्षका साथ २०७१ साल मङ्सिर ८ गते नेत्रविक्रम चन्द्र ‘विप्लव’ को नेतृत्वमा नयाँ पार्टीको पुनर्गठन गरिएको थियो । आज हामी २०७६ मंसिर ८ को पूर्वसन्धामा उभिएका छौँ । छैठौँ पार्टी पुनर्गठन दिवसको दिनमा पार्टीले एउटा नारा अगाडि ल्याएको छ । ‘‘सामाजिक फासिवादको प्रतिरोध गरौँ पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔँ ।’’
२०५८ मंसिर ८ गते जनमुक्ति सेनाको औपचारिक रुपमा घोषणा गरिएको हुनाले जनमुक्ति सेना दिवसको महान अवसरमा पार्टीको पुनर्गठन गरिएको दिन हो । अर्को अर्थमा केही नेताहरुले जनमुक्ति सेनालाई विघटन गराउँदैमा त्यो मर्दैन र मर्न दिनु हुँदैन भन्ने सन्देश पनि मंसिर ८ को पुनर्गठनले दिएको छ । सारमा भन्दा सामाजिक फासीवाद हाम्रो मुख्य शत्रु र अवरोध बनेर उभिएको छ जसको नेतृत्व केपी ओली र पुष्पकमल दाहालले गरिरहेका छन । आज तथ्यहरुले स्पष्ट गरिसकेको छ कि दलाल संसदीय व्यवस्थाकै हुबहु पुनरावृत्तिका लागि दशवर्षे जनयुद्ध गरिएको थिएन । केही समूहको सत्ता आरोहणका लागि बार्गेनिङको विषय थिएन, जनयुद्ध र जनमुक्ति सेना ।
जनयुद्धका हजारौँ शहिद, वेपत्ता, घाईते, अपाङ्ग अनि लाखौँ योद्धाहरुको समर्पण र बलिदान कुनै पनि मूल्यमा संसदवादमा भएको पतनका लागि थिएन । आज देशमा अनौठो दृश्य छ, पर्दा अगाडि कम्युनिष्ट नामको सरकार छ, केपी ओली प्रधानमन्त्री छन्, पुष्पकमल दाहाल ओलीपथमा गाभिएका छन् । उनीहरुका लागि संसदमा दुई तिहाईको बहुमत छ तर गर्न खोजेको त केही पनि छैन । न त राष्ट्रियताका लागि केही भएको छ, न त जनताले राहत पाउने एउटै काम भएको छ । न त सरकारले विकास र समृद्धिको लागि एउटै ठोस आधार तयार पारेको छ न त जनतामा उभार ल्याउने एउटै निर्णय गर्न सकेको छ । उल्टो ओली र दाहालको रुची त कसरी क्रान्तिकारी, राष्ट्रवादी प्रगतिशील र सच्चा लोकतन्त्रवादी शक्तिहरुलाई सिध्याउने, दमन गर्ने र निषेध गर्ने भन्नेमा केन्द्रित छ । आज पार्टी पुनर्गठन औचित्य पुष्टी भइसकेको छ । सच्चा कम्युनिष्टहरु बरु मृत्यु स्वीकार गर्दछन् तर पुँजीवाद र साम्राज्यवादका सामु आत्मसमर्पण गर्दैनन् ।
२. फासीवादको प्रतिरोध अनिवार्य– फासीवादको प्रतिरोध गर्नु आज क्रान्तिकारीहरुको मुख्य दायित्व बनेको छ । क्रान्तिलाई दमन गर्ने वा नामेट पार्ने योजनाका साथ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्धले पुँजीवादीहरुले भन्ने गरेको लोकतन्त्र वा गणतन्त्रको खिल्ली उडेको छ । आजसम्म आइपुग्दा यो सरकारले कुमार पौडेल, तीर्थ घिमिरे र निरकुमार राईको झुटो इन्काउन्टरको नाममा हत्या गरेर उनीहरुले भन्ने गरेको मानव अधिकार र कानुनी राज्यको उपहास गरेको छ । घरमा सुतिरहेका दुर्गाबहादुर रोक्कालगायतका व्यक्तिलाई गिरप्mतार गरी बाटोमा लगी गोली हानेर घाइते बनाइएको छ । र, सरकारी दमनको प्रतिरोध गर्ने क्रममा विस्फोटमा परी दर्जनौँको सहादत भइसकेको छ ।
अर्कोतिर पार्टीका स्थायी समिति सदस्य सुदर्शनसहित सयौँ नेता कार्यकर्तालाई झुटा मुद्दा लगाई जेल र हिरासतमा राखिएको छ । विप्लव समूहका नेता कार्यकर्ता जहाँ देखे पनि गोली हान्ने आदेश दिइएको हो । गोली हानेर, दमन गरेर, गिरफ्तार गरेर अनि झुटा मुद्दा लगाएर क्रान्तिकारीहरुलाई सिध्याउँछु भनेर सपना देख्ने ओली र दाहालको चेतलाई कसरी विश्लेषण गर्ने ? त्यतिले मात्र नपुगेर विप्लव र प्रचण्डलाई नै सिध्याउनेसम्मका षड्यन्त्र गर्नेलाई के भन्ने ? त्यसकारण सामाजिक फासीवाद जो कम्युनिष्टका नाममा आइरहेको छ, समाजवादको ब्यानरमा क्रान्तिलाई निमोठ्ने योजनाका साथ आइरहेको छ ।
३. जनयुद्धको विश्वसनीयता विप्लवसगै– जनयुद्धको निरन्तरता अहिले राजनीतिक र वैचारिक रुपमा विप्लवसँग मात्र छ । प्रचण्ड र बाबुरामसँग अब जनयुद्धको विरासतप्रति गर्व गर्ने हैसियत गुमेको छ । प्रचण्ड र बाबुरामद्वारा विघटन गरिएको जनमुक्ति सेना, क्रान्तिकारी पार्टी, वर्गसंघर्षको कार्यक्रमको विकास अनि वैज्ञानिक समाजवादको स्थापना गर्ने रणनीतिक दृढता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग जीवित छ र त्यसलाई एउटा निर्णायक गतिमा पु¥याउने साहस गरिएको छ । चीनका राष्ट्रपति सि जिनपिङले एक कार्यक्रममा भनेका थिए– ‘‘कुहिएको चीजमा किराहरु बढी लाग्छन् ।’’ जतिसुकै रंगरोगन गरे पनि वा जति वेसार र मसला दले पनि दलाल संसदीय व्यवस्था कुहिएर गन्हाएको छ अनि त्यसमा ओली, दाहाल र देउवा कीरा बनेर लागिपरेका छन् । कांग्रेस र एमाले सारमा कुहिएकै चीज मन पराउने किराहरु हुन । हिजोका प्रचण्ड र बाबुरामको तुलनामा विप्लव र प्रकाण्ड सामान्य हुन तर आज आमसर्वहारा श्रमजीवि, राष्ट्रवादी र सच्चा लोकतन्त्रवादी शक्तिका आाशाका केन्द्र बनेका छन्, विप्लव र प्रकाण्ड । आजको नेपाली कम्युनिष्ट आन्दोलनमा दुईवटा धार वा चरित्र टक्कराइरहेको स्पष्टै देखिन्छ । पहिलो हो संसदीय र सुधारवादीधार जसको नेतृत्व ओली, दाहाल र नेपालले गरेका छन् भने अर्को धार हो । क्रान्तिकारी धार जसको नेतृत्व विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन र विषमले गरिरहेका छन् ।
४. वर्ग संघर्षको अभिभारा नेकपासग– परिस्थितिले वर्ग संघर्षको नेतृत्व गर्ने अभिभारा नेपाल कम्युनिस्ट पार्टीलाई सुम्पेको छ । एकातर्फ भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको हस्तक्षेप र थिचोमिचाको विरुद्ध लड्दै राष्ट्रियताको जगेर्ना गर्नु पर्ने छ भने अर्कोतर्फ वर्गसंघर्षको जेहाद छेड्नु पर्ने अवस्था विद्यमान छ । विप्लवलाई किरण जस्तै शान्त र स्थिर रहेर बस्ने अधिकार नै छैन । किनकि थोरै पनि गतिहीन भएमा वा पुरानै बाटाहरु प्रयोग भएमा उनीहरुको मृत्यु अवश्यम्भावी छ । केवल दस्तावेज लेखेर वस्ने छुट विप्लवलाई छैन । आजको क्रान्ति केवल तीब्रतम हमला र पहलकदमीबाट मात्र संभव छ । अब लामो समय वा दीर्घकालको सोचबाट क्रान्ति सम्पन्न हुन सक्दैन, त्यस्तो भएमा केवल पलायन र विघटनको मात्र सम्भावना रहन्छ । यसरी हेर्दा भीषण चुनौती र दुश्मनको हमलाहरुको बीचबाट क्रान्तिको ज्वारभाटा उठाउने चुनौती विप्लवसँग छ । आज दुश्मनहरुले आफ्नो कित्तामा भन्दै हिँडेका पनि छन्, विप्लव र प्रकाण्डलाई सिध्याउन साथ क्रान्ति सिद्धिन्छ । त्यसकारण दुश्मनका हमलाहरु व्यापाक तिव्रतम रुपमा भएका छन् । दुश्मनका हमलाहरुबाट बच्दै क्रान्तिको पहलकदमी लिनु जोसुकैले लिनसक्ने विषय होइन ।
५. वर्ग संघर्षको कम्पन पैदा भएको छ ः आज पार्टी भित्र र बाहिर ठूलो कम्पन वा हलचल पैदा भएको छ । पार्टीको आन्तरिक जीवनमा पनि ठूला–ठूला सनसनीपूर्ण अभ्यासहरु भएका छन् । एकातर्फ पार्टीको शुद्धिकरण अर्कोतर्फ पार्टी छाड्ने, स्वतन्त्र बस्ने वा अरु पार्टीमा प्रवेश गर्ने लहर चलेकै छ । यसबाट के देखिन्छ भने पार्टीभित्र पनि ठूलो हलचल पैदा भएको छ । केही इमानदार र त्यागी ठानिएका नेताहरुको बर्हिगमनले आमशुभचिन्तकमा पनि चिन्ता पैदा गरेको छ । नेताहरुको तहमा हुने हलचलले कार्यकर्ता र शुभचिन्तक पंक्तिलाई दुःखी बनाउँछ । पार्टीले कुनै पनि मूल्यमा क्रान्तिप्रति बफादार र इमान्दार मान्छेहरुलाई घटेचेर बाहिर नपठाओस् भन्ने आमचाहना छ । तर, वर्गसंघर्षको नियम अलि निर्मम र क्रुर हुन्छ । वर्ग संघर्षमा नेताहरुबाट हुने थोरै पनि गल्ती, कमजोरी वा असावधानीले ठूलो क्षति पुग्न सक्छ । सम्भावित क्षति र दुर्घटनाबाट पार्टी र क्रान्तिलाई बचाउनका लागि गरिने जस्तोसुकै अप्रिय कदम चाल्न परे पनि तयार हुनु नेतृत्वको दायित्व पनि हो । आज पार्टी भित्र र बाहिर कम्पन पैदा भएको छ । कतै भागदौड मच्चिएको छ त कतै संघर्षहरुको ज्वालामुखी बनिरहेको छ । दुश्मनको कित्तामा पनि ठूला–ठूला षड्यन्त्रहरु भएका छन्, मान्छेहरु आकुल व्याकुल भएका छन् ।
६. लाखौंको समर्थन र करोडौंको सहानुभूति छ ः अब नेपालको मुहार फेर्ने वा नफेर्ने, क्रान्ति गर्ने वा नगर्ने त्यसको जिम्मा र विश्वासको आधार केवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मात्र छ । जनताहरु भन्दैछन्, ‘विप्लव आऊ, देश बचाऊ ।’ भारतीय सीमा अतिक्रमणको विरुद्ध जनताले आग्रह पनि गरेका छन्, नेपाली सेना र विप्लव मिलेर देश बचाउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध र फासीवादी दमनका विरुद्ध आमजनताले विरोध र आक्रोश अभिव्यक्त गरिरहेका छन् । विखण्डनकारी शक्तिहरुसँग कुम जोड्ने अनि राष्ट्रवादी शक्तिलाई दमन गर्ने सरकारी रणनीतिले आमनेपालीहरुको मन दुखाएको छ । आजको सत्तामा देखिएको भ्रष्टाचार, कालोबजारी, तस्करी, दलाली र माफियातन्त्रको अन्त्यका लागि जनताले विप्लवलाई गुहारिरहेका छन् । देशै सिद्धिन थाल्यो, छिटो यो व्यवस्थाको अन्त्य गर्नुप¥यो भन्ने आमबुद्धिजीविहरुको आग्रह छ । आज पनि लाखौँ योद्धाहरु विप्लवले आह्वान गर्ने युद्धमा सहभागी हुन चाहन्छन् । आज करोडौं जनताले यो दलाल सत्तालाई अपदस्त गरेको हेर्न र खुसियाली मनाउन चाहन्छन् ।
देशभित्रै रोजगार नपाएर विदेशिएका हजारौं युवाहरु नेपालमा वास्तविक क्रान्ति भएको देख्न चाहन्छन् । आजका नेपाली जनता सचेत छन् र उनीहरु सबैखाले शोषण, उत्पीडन, अन्याय, विभेद र असमानताबाट मुक्त हुन चाहन्छन् । आजको सत्ता केवल दलालहरुको चंगुलमा छ । यतिसम्म भएको छ कि कसलाई मन्त्री वा प्रधानमन्त्री बनाउने, कसलाई टिकाउने वा गिराउने सम्पूर्ण शक्ति दलालहरुको हातमा छ । सम्पूर्ण समाजमा दलाल संस्कृतिले आक्रान्त पारेको छ । मानवीय मूल्य, मान्यता र सभ्यतामाथि हमला भईराखेको छ । इमानदार बन्ने, स्वाभिमानमाथि विश्वास गर्ने र श्रमका भरमा बाँच्न चाहनेहरु समाजबाट अपहेलित, तिरस्कृत वा बर्हिगमित हुने अवस्था बनेको छ । सर्वत्र कालोधनको सत्ता छ । यो पुँजीवादी विकृति र विसंगतिबाट उत्पीडनमा परेको लाखौं जनसमुदाय विद्रोह गर्न चाहन्छ । हिजो मुक्ति र समानताका लागि जनयुद्धमा होमिएको ठूलो पंक्ति फेरि अर्को आँधी हुरीको प्रतिक्षामा छ ।
७. फासीवादको प्रतिरोधबाटै शीघ्र क्रान्तिको सम्भावना ः हामीलाई थाहा छ, फासीवादले अन्तत्वगत्वा क्रान्तिको बाटो खोली दिन्छ । सरकारले दमनका लागि जब बन्दुक प्रयोग गर्छ तब नै विद्रोहीले प्रतिकारका लागि बन्दुककै खोजी गर्छ । बन्दुकको बलमा दमन गर्ने शासकहरुको बुद्धि नै आत्मघाती साबित हुने गर्छ । १४ वर्ष जेल जीवन बिताएका केपि ओली र दश वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले सत्तामा पुगेपछि यो तथ्यलाई किन आत्मसात नगरेका होलान् ? यदि ओली र प्रचण्डमा अलिकति पनि कम्युनिष्ट नैतिकता हुन्थ्यो भने क्रान्तिको इमानदार पहलप्रति उनीहरुको सहानुभूति र सहकार्य हुनुपर्दथ्यो । आज केपि ओली र प्रचण्ड साँच्चिकै राष्ट्रवादी भइदिएको भए राष्ट्रवादी शक्तिसँग मित्रताताको हात फैलाउने हिम्मत गर्नुपर्दथ्यो । स्वर्गीय राजा विरेन्द्रले पनि माओवादीलाई सिध्याउने गरी सेना प्रयोग गर्न इन्कार गरेको तथ्य छ । विरेन्द्रको जति पनि राष्ट्रवादी चिन्तन हाम्रा ओली र दाहालमा देख्न पाइएन किन ? राजा महेन्द्रले चिनियाँ क्रान्ति र माओबाट प्रभावित भएर भूमिसुधार, छुवाछुतको अन्त्य जस्ता ठूला परिवर्तनको अभ्यास गरेका थिए । तर आज ओली र दाहालबाट त्यति पनि पहल नहुनु दुर्भाग्यको कुरा हो । सारमा भन्दा वर्तमान सरकार देशमा गृहयुद्ध लाद्न चाहन्छ । विरोधीहरु सबैलाई दमन गरेर सिध्याउँछु भन्ने राणाकालीन दुस्साहस सरकारले गरेको छ । एउटा राजनीतिक वैचारिक, क्रान्तिकारी र राष्ट्रवादी शक्तिलाई प्रतिबन्धित गरेर, आतंककारी घोषणा गरेर अनि सैन्य दमन गरेर सिध्याउने सपना आखिर आफैँतिर फर्किने छ । विप्लवलाई सोज्याउने बन्दुक अन्त्यमा ओली र दाहालप्रति नै सोझिने सम्भावना प्रबल छ । हिजो जनयुद्धको नेतृत्व कसले गरेको थियो ? हिजो झापा विद्रोह कसले गरेको थियो ? के क्रान्ति हुनुपर्छ भन्ने विप्लवलाई बन्दुक तेर्साउने नैतिकता ओली र दाहालमा छ त ?
हामीलाई थाहा छ, सरकारले प्रतिबन्ध लगाएर विप्लव नेतृत्वको पार्टी कमजोर भएको छैन, झन् बढी सशक्त बनेको छ । हजारौं नेता तथा कार्यकर्ताको गिरफ्तारीबाट उक्त पार्टी डगमगाएको छैन बरु झनै स्पातिलो बनेको छ । सरकारी दमनबाट आत्तिएर विप्लवका सेनाहरु भागेका छैनन्, झन् बढी सशक्त बनेका छन् । बरु सरकारी क्षेत्रमा ठूलो हलचल र अन्तर्विरोध पैदा भएको छ । सेना र प्रहरीभित्र वार्ताका लागि पहल गर्न दबाब बढेको छ । सत्तारुढ पार्टीभित्रै वार्ताद्वारा समस्याको हल गर्न दबाब बढेको छ ।
अन्त्यमा छैंठो पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा उभिएर पूर्व क्षितिजलाई नियाल्दै गर्दा के चित्र देखिन्छ भने एउटा ठूलो युद्धमा विप्लव नेतृत्वको नेकपाले जित हासिल गरिसकेको छ । एउटा ठूलो तयारी पूरा गरिसकेको छ । विचार, पार्टी र सेना निर्माणको काम एउटा उत्कर्षमा पुगेको छ । फासीवादी दमनको प्रतिरोधबाट नेपालमा क्रान्तिको ढोका खुल्ने सम्भावना प्रबल बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>