प्रतिबन्धित भारतीय नोट सटही कार्यान्वयन हुनेमा अाशंका

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । नेपालमा रहेका प्रतिबन्धित ५ सय र १ हजार भारतीय रूपैयाका नोट सटहीका लागि भारतीय पक्षले फेरि पनि समय लाग्ने भन्दै केही महिनापछि समस्या समाधान हुने अास्वासन दिएका छन् । प्रतिबन्धित नाेट साट्न कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले केही समय मागेको सरकारी अधिकारीहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले उक्त विषय प्राथमिकताका साथ उठाएको प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन् । उनले आउँदो असोजसम्ममा उक्त समस्या सुल्झिने विश्वास व्यक्त गरेका छन्। तर नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भने भारतीय अास्वासन पूरा हुनेमा शंका गरेका छन् । उनीहरूले सबै किसिमका कानूनी र प्राविधिक जटिलता अन्त्यका लागि यसअघि नै पर्याप्त छलफल भइसकेको बताउँदै भारतले टार्न खाेजिरहेकाे अाराेप लगाएका छन् ।
माेदी भ्रमणका बेला भएकाे दुई देशबीचको उच्चस्तरीय भेटवार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले उनका भारतीय समकक्षी मोदीलाई साक्षी राख्दै प्रतिबन्धित भारतीय नोट सटहीको विषय समाधान गर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार, त्यसअघिका भेटका क्रममा पनि भारतीय पक्षले कानूनी पक्षलाई समेत विचार गर्नुपरेकोले ढिलाइ भएको बताउँदै अाएका थिए ।
‘भारतीय पक्षले हाम्रो आग्रहलाई सुन्यो। तर त्यसमा कतिपय कानूनी पक्ष छन् त्यसलाई ख्याल गर्छौँ भन्ने उहाँहरूको भनाइ छ,’ रिमालले भने, ‘हाम्रो देशमा जम्मा भएको भारू हाम्रो कारणले नभइ भारतको कारणले जम्मा भएको हो, रकम खेर जाने स्थिति नबनोस् भनेर हामीले भन्यौँ।’
भारतमा माेदी सरकारले आकस्मिक रूपमा उक्त प्रतिबन्धकाे निर्णय गरेकाे थियाे । साे लगत्तै नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंकका अधिकारीहरूबीच भारतीय रुपैयाँ साट्न सम्भावित कानूनी र प्राविधिक पक्षबारे छलफल भइसकेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। प्रतिव्यक्ति बढीमा साढे ४ हजार मात्र साटिदिने प्रस्ताव भारतीय पक्षले गरे पनि कानूनी रूपमै २५ हजारसम्म भारतीय मुद्रा राख्न पाइने पुरानो व्यवस्था रहेकाले त्यो प्रस्ताव स्वीकार्न नेपाली पक्ष मानेको थिएन। त्यसयता नेपालले अाफ्नाे समस्या पटकपटक भारतसामु उजागर गरे पनि भारतीय पक्षले बेवास्ता गर्दै अाएकाे अधिकारीहरूकाे भनाइ छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु