प्रगतिशील लेखक सङ्घ र ‘ओली–प्रचण्डीय समाजवाद’ – खेम थपलिया

हामीले निरन्तर भन्दै आएका छौँ, “वैज्ञानिक समाजवादी शिविरद्वारा सङ्घर्षका सबै रूपहरूद्वारा दलाल पुँजीवादी शिविरमाथि हमला गरौँ ।” यसबारे हाम्रा आधिकारिक दस्तावेज, लेख रचना, बहस–अन्तक्र्रियाहरू पनि साक्ष्यका रूपमा खडा छन् । मरणासन्न पुँजीवाद जब समाजवादी मुटु लिएर सच्चा समाजवादीमाथि हमला बोल्न सुरु गर्दछ, तब हामी वैज्ञानिक समाजवादीहरू पनि आफ्ना यौद्धिक साधनको जोरजाम गर्नुपर्ने हुन्छ । अहिले ‘ओली–प्रचण्डीय समाजवाद’ को आबरणमा केही मानिस नितान्त नौलो तरिकाले प्रलेसमाथि हमला गर्न खोजिरहेका छन् । नेपालमा फगत समाजवादको कुरा त कांग्रेसले पनि गरिरहेकै छ । ‘ओली–प्रचण्डीय समाजवाद’ र नेपाली कांग्रेसले भन्दै आएको समाजवादमा तात्विक अन्तर छैन । ती नक्कली समाजवादी हुन् । नेपालमा जनवादी क्रान्ति पूरा भएको घोषणा गर्ने, कथित समृद्धिको गुड्डी हाँक्ने, वर्गसङ्घर्षलाई तिलाञ्जली दिँदै वर्गसमन्वयको बाटो समाउनेहरूको समाजवादी नाराको आबरणमा वैज्ञानिक समाजवादीहरूमा धावा बोल्ने मनसाय बुझ्न कुनै आइतबार कुर्नुपर्दैन । नेपालको पछिल्लो राजनीतिक परिस्थिति, यसले सिर्जना गरेको आन्तरिक तथा बाह्य ध्रुबीकरणसँगै २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घको जीवनमा फेरि पनि एकपटक यसको औचित्य, सान्दर्भिकता आदिको विषयको भइरहेको बहस र त्यो बहसको केन्द्रमा आन्दोलन–सङ्घर्षलाई अन्तै मोड्न गरिएको प्रयासबारे हाम्रो धारणा राख्ने जमर्को गरिएको छ ।
नेपालमा प्रगतिशील लेखक तथा साहित्यकार भनिएका साथीहरूले कसरी सत्तास्वाद लिइरहेका छन् र तिनले लेखक–साहित्यकारको नाममा कसरी भ्रमको खेती गरिरहेका छन् भने कुरामा सायद कसैलाई कुनै दुविधा नहुनुपर्ने हो । नेपालमा आज केही मानिसहरू सङ्घर्षरत वैज्ञानिक समाजवादी पक्षधरहरूलाई ‘हावामा क्रान्ति’ गरिरहेको भनेर जनताको सङ्घर्षको अवमूल्यन गर्ने दुस्साहस गरिरहेका छन् । हामीलाई शङ्का छैन कि नेपालका कथित वामपन्थी धाराको साहित्यिक परिदृश्यलाई चरम अवसरवादी घुम्टोले घर्लप्पै छोपेको छ । अँध्यारा कोठाहरूमा भावी सत्ता र पदीय मोहमा मरीमरी बार्गेनिङ गर्ने अनि कहीँ कतैबाट त्यो निजी स्वार्थ पूरा नहुने भएपछि सडकमा ‘समाजवाद’ को नारा लगाउनु जस्तो घटिया र अवसरवादी कुरा सायद अर्को हुन सक्तैन । सत्ताधारीहरूसित सजिन असाध्यै मन गर्ने, तस्बिर खिँचाउने, सेल्फी खिँच्ने, आफूलाई बडप्पन देखाउने, फेरि आफ्नो भण्डाफोर हुने आशङ्कामा त्यसकै विरुद्ध बोलिहाल्नु नितान्त अवसरवादी तरिका हो । आफ्नो स्वाद परेको बेलामा सत्ताको सप्तरङ्गी इन्द्रेणीमा लाजै नमानी नाच्ने, तिनका नेतृत्वले कुनै कारण नाम लिए मात्र पनि तिनै नेताको उत्निखेर देवत्वकरण गर्दै हिँड्ने, फेरि कहीँ कतै निजी स्वार्थमा ठेस लाग्नेबित्तिकै तिनै नेताको बदख्याइँ पनि गरिहाल्ने ‘ओली–प्रचण्डीय समाजवाद’ पन्थी लेखक–साहित्यकारहरू बर्गेल्ती भेट्न सकिन्छ । सत्ता–सरकारी जुलुसमा सामेलीकरणमा ती साहित्यिकजनहरूको उन्मुक्त खुसी देख्न सकिन्छ । फेरि तिनै मानिस सहिदको नाममा भोज गर्छन् र रक्सीका सयौँ बोटलको हत्यामा प्रतिस्पर्धा गर्दछन् । पञ्चायतकालमा अवसरवादी साहित्यकारहरू रातमा निकै सक्रिय हुन्थे रे ! रातमा नै कसलाई पुरस्कार दिने, कसलाई प्रतिष्ठानमा लैजाने, कसलाई राजदूत बनाउने, कसलाई मन्त्री बनाउने आदि इत्यादि विषयमा पञ्चायती हण्डीवालाहरू लेखकहरूको सक्रियता अहिले पनि बेला–मौकामा चर्चा हुने गर्दछ । तर आज समय फेरिएको छ, समाजका उपरीसंरचनामा फेरबदल आएको छ । उपरीसंरचनामा आएको आंशिक परिवर्तनलाई खैंजडी बनाएर केही लेखक–साहित्यकारहरू दिउँसो नाङ्गै जुलुसमा हिँड्न थालेका छन् । सत्तासीन दलाल पुँजीवादसम्बद्ध सांस्कृतिक प्रतिष्ठानहरूमा ‘टिपेक्स प्राज्ञ’ ‘भनसुन प्राज्ञ’, ‘मनसुन प्राज्ञ’ हरूको हालीमुहाली छ । जब विचार–सिद्धान्त–आदर्श सौदाबाजी–दाउपेचका विषय बन्दछन्, बनाइन्छन् भने त्यसका मतियारहरू कसरी समाजवादी अभियन्ता हुन सक्छन् ? पदका लागि नेताका घर–घरमा दौडधूप गर्नेहरूले ‘ओली–प्रचण्डीय समाजवाद’ को विरोध गर्नु कम्ती उदेकलाग्दो छैन । यो त जुन धाराको पानी पियो, उही धारामा फर्की–फर्की पिसाब फेर्ने जस्तो कुरा भयो । ‘ओली–प्रचण्डीय समाजवाद’ यतिसम्म लचकदार छ कि ऊ एकैछिनमा चाइनिज भइदिन्छ, एकैछिनमा भारतीय । भारतीय विदेशमन्त्री शुष्मा स्वराजसित एमाले अध्यक्षको ओलीको भेटघाटको तरिका र कुराकानीको अन्तर्वस्तु अहिले बहसको विषय बनेको छ । ‘ओली–प्रचण्डीय समाजवाद’ एकैछिनमा बच्चा भइदिन्छ, एकैछिनमा वृद्ध ! एकैछिनमा राष्ट्रवादी र एकैछिनमा राष्ट्रघाती भइदिन उसलाई कुनै अप्ठ्यारो हुँदैन । राष्ट्रवादको बर्को ओढेर राष्ट्रघात गर्नु उसको असलियत हो । ‘ओली–प्रचण्डीय समाजवाद’ वरिपरि घेराबन्दी लाग्ने लेखक–साहित्यकारहरू दालल फासिवादी सरकार र तिनको कार्यक्रममा हाजिरी जनाउँछन्, गरम लिफा खल्तीमा हाल्छन् अनि सङ्गठित–असङ्गठित रूपमा आफू ‘समाजवादी’ भएको कोकोहोलो गर्दछन् । नाङ्गाहरू धेरै भएपछि लुगाा लगाएका मान्छेहरू भाग्नुपर्दछ भनेको यही त होला । नत्र नाङ्गाहरूले कपडा लगाएका मानिसमाथि निरन्तर किन हमला गरिरहेका छन् त ? हामी वैज्ञानिक समाजवादी पक्षधर यस्ता मानिस हौँ, जो धक खोलेर क्रान्ति, परिवर्तन र मुक्तिको कुरा गरिरहेका छौँ र प्रश्न गरिरहेका छौँ, “मित्र ! तपाईंहरूको राजनीति के हो ?”
अवसरवाद यस्तो ढलान रहेछ, जसले सजिलै जब्बर भ्रम दिन सक्छ । हरिया नोट छ्यालब्याल पारेर विभिन्न साहित्यिक महोत्सवहरू भइरहेका हुन्छन् । त्यहाँ कैयौँ नाम चलेका प्रगतिशील साहित्यकारहरूको ‘सगौरवपूर्ण’ सहभागिता हुन्छ । त्यहाँ उसले माक्र्सवादको लामा–लामा प्रवचन पनि दिन्छन् । जसले कहिल्यै आफ्नो जीवनमा माक्र्सवाद लागू नै गरेन, आफू कहिल्यै माक्र्सवादी पनि भएन तर उनले नै लामा–लामा माक्र्सवादी उपदेश दिन्छन् । त्यहाँ कोही ताली पिट्छन्, कोही हाई काढ्दै समय कटाउँछन् भने कोही चमेनागृहतिर लुसुकिन्छन् । बेमौसम कसैलाई प्रगतिशील साहित्यिक महामानव बनाएर रथयात्रा गरिन्छ । सामन्तवादी जगमा उभिएको प्रज्ञा–प्रतिष्ठानको आजीवन भत्ता पनि नछोड्ने अनि क्रान्ति पनि हुनुपर्ने ? ओहो कस्तो गज्जबको माक्र्सवादी चेतना ! छोराछोरी, सालासाली, श्रीमती र गोरु बेचेको साइनोसम्म जोडेर राज्यको ढुकुटीमा ब्रह्मलुट गर्ने चाह राख्ने, नपाए ‘मूर्दावाद’ को नारा उराल्नेहरू ‘अङ्गुर अमिलो’ सिवाय केही होइन । क्या गज्जबका प्रगतिशील–समाजवादी लेखक । भीषण तथा रक्तपातपूर्ण सङ्घर्ष प्रिय कुरा त होइन तर इतिहासमा यो अनिवार्य परिघटना बन्न पुग्दछ । त्यसमा हामीले आफ्नो भूमिकालाई कसरी व्यवस्थापन गर्न सक्छौँ, चुरो कुरा यही हो । वर्गसङ्घर्षको आधारभूत नियमलाई अस्वीकार गर्ने मनुवाहरू समाजवादी ढोंग गरिरहेका छन् । जहाँ र जहिले पनि अमानुषिक रक्तपातका सूत्रधार राज्यसत्ता हुन्छ, जनताले त्यसको प्रतिकार–प्रतिरोध गर्दछन् । यिनै कांग्रेस–एमाले होइनन्, जो हिजो माओवादीहरूलाई समाप्त पार्ने नाममा नृशंस दमनचक्र चलाएका । अनकोटमा ७ जना जनकलाकारहरू कसको सुराकीका कारण मारिएका थिए ? नेपालमा यस्ता बस्ती र गाउँ छैन्, जहाँ राज्यसत्ताको दमनचक्र नपरेको होस् । नेपालमा सत्ताका बर्बर अत्याचारका नयाँ–नयाँ कीर्तिमान निर्माण गर्नेहरूसित सहकार्य, एकता, सम्मिलन सायद यो कुरा विश्वमा नयाँ परिघटना हुनुपर्दछ । नेपालमा यसको नेतृत्व प्रचण्डले गरिरहेका छन् । दलाल सत्ता लोकतान्त्रिक हुने तर जनताको वास्तविक सत्ता ल्याउन चाहनेहरू आतङ्ककारी हुने, तिनीहरू प्रतिक्रियावादी सत्ताको जेल र हिरासतमा कुँजिनुपर्ने, यो कस्तो विश्लेषण हो ? कस्तो वर्गीयता हो ? जसले जनताको हत्या गरेका छन्, जो जनसाहित्यविरुद्ध खनिएका छन्, लेखेका छन्, विरुद्ध जाइलागेका छन्; आज तिनीहरू महङ्गा–महङ्गा दोसल्लाले छोपिएका छन् । यस्ता नाम सयौँ छन्, आवश्यकतानुसार तिनीहरूको नाम सार्वजनिक गर्नेछौँ पनि । आजभोलि प्रगतिवादी साहित्याकाशमा निकै ताउर–माउर गर्नेहरूलाई हामी स्पष्ट भाषामा भन्न चाहन्छौँ कि तिमीहरू कि त रूपान्तरित होऊ, होइन भने जनताको सजाय भोग्न तयार भएर बस ।
पञ्चायती व्यवस्थाका दौरानमा कतिपय वामपन्थी साहित्यकारहरू थरीथरीका प्रलोभनमा फसेका थिए । यो कुरा पञ्चायती व्यवस्था, राजतन्त्र र राजाका विषयमा त्यतिखेरका साहित्यकारहरूको पदीय हैसियत र सिर्जना हे¥यौँ भने धेरै कुरा छर्लङ्ग हुन्छ । हण्डी खाएबापत पञ्चायती व्यवस्थालाई अकण्टक बनाउन साहित्यिक गतिविधि गरिन्थे, त्यसबापत् अनेक किसिमका पुरस्कार बाँडिन्थे । प्रलेसकै संस्थापक श्यामप्रसाद शर्माहरू पनि लर्खडाए । प्रलेसकै नेतृत्व तहमा पुगेका धर्मराज थापाबारे सबैलाई राम्रै जानकारी हुनुपर्दछ । पञ्चायत ढलेपछि त्यहाँबाट लाभान्वित केहीले लज्जाबोध गरे, कतिले पश्चात्ताप गरे भने कतिले के के गरे, के के ! सांस्कृतिक क्षेत्रमा सामन्तवाद जस्ताको तस्तै रहिरहेकाले आज पनि यसको अन्तर्वस्तुमा खासै फेरबदल आएको छैन । इन्द्रजात्रामा एउटा राँगो नदिएको झोकमा डा. बाबुराम भट्टराईका विरुद्ध काठमाडौंमा त्यत्रो उत्पात मच्चिएको अस्ति भर्खर होइन र ! आज पनि दलाल–पुँजीपति घरानाद्वारा स्थापित पुरस्कार थाप्न गरेको मरिहत्ते र तिकडमबाजी लज्जाको उत्कर्ष हो । केही समयअघि यस्तै एक पुरस्कारका सम्बन्धमा प्रलेसले एक विज्ञप्ति नै निकालेर आफ्नो धारणा स्पष्ट गरेको थियो । ओहो एनजीओ–आईएनजीओवाला पनि वरिष्ठ साहित्यकार, अझ वरिष्ठ प्रगतिशील साहित्यकार ! विश्वविद्यालयमा हाजिर गरेर दसौँ निजी शैक्षिक प्रतिष्ठानको उन्नयनमा लाग्नेहरू पनि प्रगतिशील प्राज्ञ–साहित्यकार । हैन नेपालमा हुन लागिरहेको चाहिँ के छ हँ ! जनताका विद्रोही आवाजलाई मत्थर पार्न प्रतिक्रियावादी सत्ताले जहिले पनि नयाँ–नयाँ कुर्सीहरू तयार पारिरहेका हुन्छन् । नेपालमा अहिले पनि दलाल सत्ताले लेखक–साहित्यकार–बुद्धिजीवी–कलाकारहरूलाई विभिन्न निहुँमा फसाउन खोजिरेहको छ । प्रगतिशील लेखक सङ्घ माक्र्सवादी विश्वदृष्टिकोणको धरातलमाथि सहमति गरेर जान सक्नुपर्दछ नत्र दलाल संसदीय व्यवस्थाको चारकिल्लाभित्र ‘सहमति’ को नाटक पटक्कै सुहाउँदैन । हामी दलाल सत्ताको कथित ‘चारकिल्ला’ भित्र सहमति गर्ने पक्षमा छैनौँ । हाम्रो कुरा यही हो । अन्यथा प्रगतिशील मुखुन्डो लगाएका लेखक–साहित्यकारहरूको भण्डाफोर गर्नुको हामीसँग कुनै अर्को विकल्प हुँदैन । हामीलाई थाहा छ, क्रान्तिकारी तथा प्रतिक्रान्तिकारी दुबैका लागि लेखक–साहित्यकारहरूको भूमिका महत्वपूर्ण हुन्छ । हामी क्रान्तिको पक्षमा लेखक–साहित्यकारहरूको भूमिका खोजिरहेका छौँ ।
नेपालको समकालीन राजनीतिमा दलाल पुँजीवादी सत्ता नयाँ कलेबरमा देखापरिरहेको छ । सामाजिक–आर्थिक कारणहरूका नयाँ–नयाँ रूप देखापर्दै गएका छन् । लेखक–साहित्यकारहरूको ठूलो हिस्सा खरिद–बिक्री, सौदाबाजीमा फेरिने करण पनि त त्यही हो । हिजो प्रलेससित जोडिएका कैयौँ लेखक–साहित्यकारहरूको आजको हविगतले स–प्रमाण प्रस्तुत गरिरहेकै छ । अचम्मका कुरा त यो छ कि केही प्रगतिशील साहित्यकार ‘आदर्शवाद’ लाई आत्मसात् गर्दा रहेछन् । सामन्तवादी–पुँजीवादी प्रतिष्ठानको टाट्नामा घाँस खान जाने अनि जनसाहित्यको कुरा गर्नु गम्भीर रूपमा द्वैतवादमा फस्नु हो । क्रमशः भ्रमका पर्दाहरू तीब्र रूपमा हट्तैछन् । दलाल तथा संसदीय फासिवादको विनासकारी नीतिविरुद्धको लडाइँमा प्रगतिशील स्रष्टाहरू लड्ने कि नलड्ने ? प्रज्ञा–प्रतिष्ठानबाट शोधवृत्ति लिएर मस्ती मार्ने दर्जनौँ लेखक–साहित्यकारहरूलाई लामै सूची हामीकहाँ आइपुगेको छ । हामीसत ती लेखकहरू सरकारी प्रतिष्ठानको विरोध गरिरहेका हुन्थे, भित्रभित्र त्यही प्रतिष्ठानबाट शोधवृत्ति गरिरहेका पनि हुँदा रहेछन् । नेपाली भाषा–व्याकरण प्रकरण सामान्य परिघटना थिएन । यो प्रकरण अन्तर्राष्ट्रिय गुरुयोजनामा भएको थियो । यसको पनि हामीले हिसाब–किताब राखेका छौँ । लाज नभएपछि के गर्नू ? कुरा फेरि तिनैका ठूला हुने ! रत्नाकर र वाल्मीकि फरक–फरक चरित्र भएका तर एकै व्यक्ति हुन् तर नेपालमा यो व्यक्ति र चरित्र एउटै बन्दै गएको छ, डाँकु–साधु, साधु–डाँकु ! ओहो सामाजिक दलाल पुँजीवादरूपी कस्तो खतरानाक बिम्ब ! को कतिखेर अप्रगतिशीलहरू साहित्यकारहरू प्रगतिशील साहित्यकारका रूपमा दरिन्छन्, को कतिखेर प्रगतिशीलहरू साहित्यकारहरू अप्रगतिशील साहित्यकारका रूपमा दरिन्छन् भन्ने कुरा अनुमान नै गर्न नसकिने हुँदै गएको छ । स्वीकार्य–अस्वीकार्यको द्वन्द्ववादी नियम त होला नि ! तर व्यवहारमा त्यस्तो देखापर्दैन । यी सबै काम शक्तिकेन्द्र (आन्तरिक कम, बाह्य बढी) का गुरुयोजनामा भइरहेका छन् । यो कुरालाई प्रगतिशील लेखक–साहित्यकारहरूले गहिरोगरी बुझ्न आवश्यक छ ।
हिजो–आज माओवादी केन्द्रभित्रका केही लेखक–साहित्यकार असन्तुष्ट देखिन्छन् । केहीले आफू सो पार्टीमा नरहेको घोषणा पनि गरिसकेका छन् । यो क्रम बढ्दैछ । यो परिघटनालाई सापेक्षित रूपमा प्रगतिशील मान्नुपर्दछ तर अहिले पनि जो ‘ओली–प्रचण्डीय समाजवाद’ मण्डलीका रूपमा रहिरहेका छन्, डरलाग्दो विषय त त्यहाँ छ । जानकारहरू भन्छन्, ‘ओली–प्रचण्डीय समाजवाद’ वालाहरू एउटै ड्याङका मुला हुन् । त्यहाँ कसैले कसैका विरुद्ध औंला ठड्याउने औकात राख्दैनन् । जसलाई अहिलेसम्म कुनै आकर्षक र लोभलाग्दो मौका मिलेको छैन, ती असन्तुष्ट छन्, ती विद्रोही बनेका छन् तर तिनले सम्बन्ध–विच्छेद गर्ने हुति राख्दैनन् । ‘सन्तुष्ट’ हुनेबित्तिकै तिनीहरू अनेक तर्कका साथ पार्टी–सत्ता–प्रतिष्ठानहरूमा रत्यौली खेल्न पुगिहाल्छन् । त्यतिखेर ‘ओली–प्रचण्डीय समाजवाद’ अकबरी सुन बन्छन् तिनैका लागि । नेपालमा वामपन्थीहरूको साहित्य–सिर्जनाको वैचारिकतामाथि गम्भीर प्रश्न उठ्न थालेको उतिबेलादेखि नै हो । सायद नेपालमा अब दुईवटा एमाले छुट्टाछुट्टै रहनु आवश्यक छैन भन्ने कुराको अन्तर्वस्तु पनि यहीँनेर छ । यिनीहरूको ठूलो हिस्साले प्रतिक्रियावादीलाई पनि प्रगतिशीलता देख्न थालेको छ । नत्र किन उनीहरू आलोचनात्मक चेतनाविहीन भइरहेका छन्, उनीहरूको आलोचनाको चेतनाले आत्महत्या गरिसक्यो कि ! ‘ओली–प्रचण्डीय समाजवाद’ माथि त्यसखालका लेखक–साहित्यकारहरूले प्रशंसा–पुष्पगुच्छा बर्षाइरहनु त्यही आलोचनात्मक चेतनाको आत्महत्याको परिणति हो । ‘ओली–प्रचण्डीय समाजवाद’ त्यस्तो खिँचडी हो, जसले माक्र्सवादसँग कुनै पनि साइनो राख्दैन । ‘ओली–प्रचण्डीय समाजवाद’ द्वारा जीवन र लेखन दुवैमा नै प्रगतिशीलता र प्रतिगामिताबीचको सीमारेखा मेटाइनु निकै डरलाग्दो कुरा हो ।
नेपाली प्रगतिशील–प्रगतिवादी लेखक–साहित्यकारहरूको एक हिस्सा पुरातन, अवैज्ञानिक, असान्दर्भिक र जनविरोधी, घृणित, अवसरवाद र पतनको गम्भीर सिकार भएको छ । यो कुनै एकाध व्यक्तिको प्रश्न होइन, समकालीन आम प्रवृत्ति हो । पुगीसरी आएका ‘प्रगतिशील’ दलाल पुँजीवादी व्यवस्थाको विशेष सुविधाप्राप्त प्रतिनिधि हो, जुन जनपक्षधरता त्यागेर सत्ताधारीहरूको सेवक बनेर उभिएको छ । ‘अब नेपालमा केही हुँदैन, कसैले पनि केही गर्न सक्तैन (क्रान्तिका सन्दर्भमा), ठूलो पार्टी बनाएर (एमाले–माओवादी केन्द्रबीच एकता) त्यसकै सदस्यका रूपमा बाँकी समय बिताउने हो’ भन्ने चिन्तनले उनीहरूको राजनीतिक–वैचारिक हैसियतलाई उजागर गरेकै छ । इतिहासको एक समय सचेतन हिस्साका रूपमा प्रतिक्रियावादी सत्ताका विरुद्ध आफ्ना सिर्जना मात्र होइन, भौतिक रूपमा उभिन्थ्यो त्यो पङ्क्ति तर आज त्यस्तो अवस्था रहेन । आज त्यसैको ठूलो हिस्सा दलाल सत्ताधारीको सेवामा साहित्यिक–सांस्कृतिक भूमिका खेलिरहेको छ । नेपालमा जनयुद्धको स्थगन, आधार इलाकाको खारेजी र जनमुक्ति सेनाको विघटनपश्चात् साहित्यिक–सांस्कृतिक परिदृश्यको पतनशीलता पुगीसरी आएका लेखक–साहित्यकारहरूको गम्भीर विश्वासघात र जनपक्षधरता विपर्यासी अभिव्यक्ति हो, यसको प्रभाव प्रगतिशील लेखक सङ्घमा पनि नपर्ने कुरै भएन ।
नेपालमा झन्डै २४० वर्ष राजतन्त्रले शासन ग¥यो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६८ वर्ष मात्र भयो । नेपाली समाजमा ८ – १० हजार वर्षदेखि विभिन्न (नकार–सकार) विरासतको विकास हुँदै आएको छ । नेपालमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था पनि लामै समय रह्यो । नेपालको परम्परागत वैचारिक आधार र खण्डित जनपक्षधरतामा महान् जनयुद्धले व्यापक फेरबदल ल्याउने प्रयास गरेकै हो तर त्यो प्रचण्डका गद्दारीका कारण भयानक दुर्घटनामा प¥यो । नेपाली साहित्यकारहरूको एउटा ठूलो हिस्साले पलायनवादको बाटो रोजिरह्यो । नेपालको इतिहासमा जसरी सुगौली सन्धिले भूगोल मात्र खुम्च्याएन, साहित्यक रूपमा वीरधाराका विरुद्ध स्तुतिवादी धाराले स्थान लियो, त्यसैगरी जनयुद्धको स्थगनपश्चात् आज ‘ओली–प्रचण्डीय समाजवाद’ को नाममा सामाजिक दलाल पुँजीवादी धाराले स्थान लिने खतरा प्रवल बन्दै गएको छ । बेला–बेलामा तिनको प्रगतिशील साहित्यिक सुतुर्मुर्गी चर्चा सुन्न पाइन्छ । हामी नेपाली साहित्यको पुरातन चिहानमाथि नूतन प्रगतिशील–प्रगतिवादी (माक्र्सवादी) साहित्यिक मूल्य खडा गर्न चाहन्छौँ, यसमा प्रगतिशील लेखक सङ्घले आफूलाई कसरी उभ्याउँछ ? त्यो महत्वपूर्ण कुरा हो ।
जनयुद्धको अनायास विघटन र वाम आन्दोलनमा आएको भयानक आत्मसमर्पणवादी–विसर्जनवादी विचलनका कारण नेपालको क्रान्तिकारी विचार र साहित्यिक क्षेत्रमा अहम् प्रश्न सिर्जना भएका छन् । यसले प्रगतिशील विचार र सोअनुरूप प्रगतिशील साहित्यिक धारालाई नयाँ संवेग प्रदान गरेको कुरामा दुईमत छैन । जनयुद्धकालसम्म आइपुग्दा स्तरीयलेखनका साथ नेपाली साहित्यको मूल धाराको रूपमा रहेको प्रगतिवादी क्षेत्रमा ‘नयाँ यथार्थपरक’ धाराको रूपमा स्थापित भयो । महान् सोभियतको विघटनसँगै समाजवादी सत्तामाथि अइपरेको सङ्कटका बीच भएको जनयुद्ध विचारधारात्मक रूपमा आज विभिन्न प्रवृत्तिसित कठोर सङ्घर्ष गरिरहेको छ । त्यो आज एकीकृत जनक्रान्तिको रूपमा अभिव्यक्त भइरहेको छ । जनयुद्धकालीन आत्मविश्वास अहिले पनि उच्च छ । विश्वमा निगम पुँजीवादले राइँदाइँ गरिरहेको बेला माक्र्सवादको रक्षा र विकास तथा वैज्ञानिक समाजवादी सत्ताको स्थापनाको प्रश्न अहम् महत्वको छ । विभिन्न जनविरोधी षड्यन्त्रका विरुद्ध प्रगतिशील लेखक–साहित्यकारहरूले सङ्घर्ष गर्ने कि आत्मसमर्पण गर्ने ? विजातीय तत्वसित प्रणयलीला प्रगतिशील लेखक सङ्घको चरित्र होइन । पुगीसरी आउनेहरूका लागि लेखकीय क्षेत्र बुद्धिविलास हुन सक्ला तर आमूल परिवर्तनका खातिर निरन्तर लागिरहेका लेखक–साहित्यकारहरूका लागि यो जीवन–मरणको सवाल हो । नेपालको प्रगतिशील साहित्य कमजोर भयो भन्ने कुरा सही होइन, नियतबारे छलफल हुन सक्छ । साथै, आफ्नो वैचारिक–सामाजिक–आर्थिक परिस्थितिअनुरूप मध्यमवर्गको ठूलो हिस्सालाई यतिबेला क्रान्तिकारीकरण गर्नु चानचुने कुरा होइन । नेपालमा मिहिनेतकश जनताको जीवन र सङ्घर्षबाट धेरै टाढा पुगिसकेको ‘ओली–प्रचण्डीय समाजवाद’ पन्थीहरूले क्रान्ति अहितकारी भएको महसुस गर्न थालेबाट प्रगतिशील लेखक सङ्घआबद्ध लेखक–साहित्यकारले गर्ने अपेक्षा कस्तो होला !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>