पौडेलको पोष्टमार्टम रिपोर्ट तत्काल सार्वजनिक गर्न माग

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । सर्लाहीमा प्रहरीद्धारा असार ५ गते हत्या गरिएका नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ । जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्कमि रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीयवासी र परिवारसँग छलफल गरेको छ । छलफलका क्रममा पौडेलको परिवारले दोहोरो भिडन्तको नाममा प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको बताएका छन् । कुमारका ७२ बर्षिय बुवा खिलकराज पौडेलले आफनो छोरालाई प्रहरीले पक्राउ गरेर हत्या गरेर भिडन्तमा मृत्यु भएको गलत हल्ला फैलाएको बताउनु भयो । उहाँले भन्नुभयो,‘आज मेरो छोराकोमात्रै मृत्यु भएको छैन देशको लागि केही गर्छु भनेर हिडेको देशकै छोरो गुमेको छ, सर्लाहीका गरिब किसान,सुकुम्बासीको अभिभावक गुमेको छ तर सरकारले दोहोरो भिडन्तमा मृत्यु भएको नाम दिईएको छ, यो गलत हो, जनविरोधी र भष्ट्रचारीहरु मिलेर मेरो छोराको हत्या गरिएको छ ।’ कुमारका भाई हरिकृष्ण पौडेलले अहिलेसम्मपनि आफनो दाईको पोष्टमार्टम रिपोर्ट नदिएको बताउनुभयो । उहाँले आफ्नो दाईलाई नियन्त्रणमा लिएर हत्या गरेको र पोष्टमार्टम रिपोर्ट सरकारको दबावमा अस्पतालले सार्वजनिक गर्न आलटाल गरिरहेको गुनासो गर्नुभयो ।
अस्पतालले पोष्टमार्टमको रिपोर्ट अहिलेसम्म अस्पतालले नदिंदा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत रिपोर्ट सार्वजनिक गर्न सकेको छैन । घटनास्थल भएको नजिकै रहेका स्थानीयवासीले पनि आफूहरुले घटना भएको दिन गोलीको कुनै आवाज नसुनेको बताए । स्थानीय चप्पादेवी यादवले आफूले घटना भएको बेला केही थाहा नपाएको र छिमेकीले भनेपछि मात्रै अचम्म परेको बताउनुभयो । घटनाभएको स्थलका जग्गाधनी अजित मण्डलले आफूहरु १२ बजेतिर तरकारी लगाउने काम छोडेर खाना खान हिडेको तर ३ बजेतिर काममा आउँदा टाढैबाट भित्र छिर्न नदिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी १२ बजेतिर घाम चर्केपछि खाना खान र आराम गर्न घर गयौं तेतिबेलासम्म केही पनि थिएन तर ३ बजेतिर फर्केर आउँदा पुरै प्रहरी मेरो जग्गा भएको ठाँउ घेरेको थियो हामीलाई टाढैबाट छिर्न दिईएन, हामीले सोध्यौ कि के भयो भनेर तर प्रहरीले हरिण मारेको छ अहिले जान पाईदैन भन्यो तर पछि थाहा भयो कि दुखद घटना घटेको रहेछ ।’ सर्लाहीमा लोकप्रिय नेता पौडेलको भिडन्तमा मृत्यु भएको मान्न कोही तयार छैनन । सर्लाहीका एक पत्रकारले भने,‘ पूर्व गृहमन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोगले समेत बोलिसकेका छन कि यो हत्या हो, हाम्रो विश्लेषण पनि यो भन्दा फरक छैन ।’ जिल्ला अस्पताल सर्लाहीले अझै पोष्टमार्टमको रिपोर्ट नदिँदा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, एभोकेसी फोरमले अन्तिम रिपोर्ट सार्वजनिक गर्न सकेका छैनन् । पौडेलका परिवारले सरकारको दबावमा अस्पतालले पोष्टमार्टम रिपोर्ट गलत बनाउन सक्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
जनपत्रकार संगठन नेपालको केन्द्रीय पदाधिकारी टोलि जिल्लामा क्रियशिल पत्रकार,मानवअधिकारकर्मि र नागरिक समाज संग छलफल एवम् भेटघाट गरि राष्ट्रिय मानवअधिकार अायोगको कार्यलय जनकपुर पुगेर मिडिया काउन्सिल विधेयक र पछिल्लो समय मानवअधिकारको अवस्था बारे छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रकाश डुम्रेले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु