पूर्वराष्ट्रपति कार्टर अझै जनताकै सेवामा तल्लीन

२०७६ आश्विन १७ गते, शुक्रबार

काठमाडौं, १७ असोज । अमेरिकाका पुर्व राष्ट्रपति जिमी कार्टर ९५ वर्षको उमेरमा पनि जनताकै सेवामा तल्लीन छन् । ९५ वर्ष पुगे पनि पूर्व राष्ट्रपति कार्टरले कुनै थकाइ महसुस नगरी जनताका लागि काम गरिहरेका छन् । एक प्रवक्ताका अनुसार उनी घरमा त्यतिकै काम नगरी बस्नै सक्दैनन् । कार्टरले नियमित रूपमा आइतबार स्कूलमा उनको स्थानीय मारानाथा ब्याप्टिष्ट चर्चमा पढाउँदै आएका छन् । यति मात्र हाेइन, उनी गरिब जनताका लागि घर बनाइदिने गर्छन् । व्हाइट हाउसका पूर्व सल्लाहकार जेराल्ड राफशुनले पनि कार्टरले खुलेरै प्रशंसा गरेका छन् । उनले भने, ‘उहाँ जहिले पनि जनताको काममा तल्लीन हुनुहुन्छ, कहिल्यै पनि थाक्नुहुन्न ।’ पिपुल डक कमका अनुसार गत मंगलबारबाट ९५ वर्षमा लागेका पूर्वराष्ट्रपति कार्टरले आफ्नाे जन्मदिनमा कुनै पनि कार्यक्रम वा खर्चिलाे पार्टी गरेनन् । बरू त्यस दिन पनि गरिबका लागि घर बनाइदिनमै व्यस्त रहे ।
रिपोर्टका अनुसार कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाका विभिन्न स्थानमा पुगेर पछिल्लो ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् । १ अक्टोबर १९२४ सालमा जन्मेका कार्टर सन् १९७७ देखि १९८१ सालसम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म बाँच्ने राष्ट्रपति पनि हुन् । कार्टरले गत वर्ष सबैभन्दा बढी बाँच्ने राष्ट्रपति जर्ज एच डब्ल्यू बुशको रेकर्डलाई तोडेका थिए । बुशकाे निधन ९४ वर्ष १७१ दिनकाे उमेरमा भएकाे थियाे । कार्टरले यही वर्षको मार्च महिनादेखि यो रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । -एजेन्सी

प्रतिक्रियाहरु