पुर्सुङ्गे प्रमुख – बलराम तिमल्सिना

जसरी
शिशिरको प्रहारसँगै
खस्छन पत्झडका पातहरू
जसरी
भयानक भूकम्पपछि
भत्कन्छन पुराना संरचनाहरू
जसरी
भारी वर्षापछि
अडिन सक्दैनन कमजोर पहाडहरू
ठीक त्यसै गरी
देशको कार्यकारी प्रमुखको
बोली खसेपछि भूइँमा
मुख नबिगारी बस्न सक्दैनन नागरिकहरू !

जसरी,
मदिरा पान गरेपछि
पूर्ववत अवस्थामा नबसेर
भावुक या उत्तेजित बन्छन मानिसहरू
जसरी,
सर्पले लखेट्दा या भूकम्प आउँदा
कोही पनि शान्त र स्थिर बस्दैन
ठीक त्यसै गरी
देशको कार्यकारी प्रमुखको भाषण सुनेपछि नागरिकहरूको
अकस्मात ज्वरो बढ्छ
रक्तचाप बढ्छ
आक्रोश बढ्छ
निराशा बढ्छ
हँसिमजाक बढ्छ
हरेक चिया पसलमा बसेर
कसैले उडाइरहेको हुन्छ उसलाई
सही थापिरहेका हुन्छन श्रोताहरू !

देशले पहिलो पटक पाएको छ-
पुर्सुङ्गे प्रमुख
जसले शासन कम र प्रहसन बढी गर्छ
जसले भाषण कम र भद्दा मजाक बढी गर्छ
मध्यान्हमा सपना देख्नु
र सन्ध्यामा सुनाउँदै हिड्नु
पुर्सुङ्गे प्रमुखको दैनिकी बनेको छ !

अचम्मको एउटै कुरा छ -
कसरी मिसियो एउटै मान्छेमा
यो हाँस्य र रौद्र रस ?
के हिट्लर र मुसोलिनीहरू पनि
एक साथ क्रुर र मजाकिला पनि थिए ?

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>