परिचय फेरिएको उपनाम – जनक महतारा ‘संकेत’

कुख्यात चोरले रुपधारण गरेको छ साधुको
साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ
बस्ती बस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले
र हाटबजारमा खुलेआम बिक्री भैरहेछ
मान्छेका मुटु कलेजो र आँखा कान

सुनकली,
तिमीले देखेको सपनाको संसार होइन यो
चैनले सास फेर्न पनि गाह्रो
विषाक्त हावा चलिरहेको आख्त आख्त समय हो

रोप्न त पसिनाको खेती रोपेकी हौं
फलाउन सपनाको गुराधौली
आपूm सुकेर पनि रगत दिएकी हौं
रगतका थोपा थोपा बोकेर फुलेको गुराँस
शिरमा सजाउने कम्ती चाह थिएन तिमीलाई

सुनकली,
रातै भएर गुराँस मात्र कहाँ फुल्दो रहेछ र ?
कहिले फुल्दोरछ रातै भएर कालो रात
त्यही कालो रातको गर्भाशयबाट
जन्मदा रहेछन् मान्छेका नयाँ नयाँ परिचयहरु

तिमीजस्तै मेरो मनको एकान्त कुनामा लुकिबसेका
वर्षौं अघिका सम्झनाहरु छन्, सुनकली !
ज्वालामुखीको लाभा जस्तै उठदै बस्दै गरिरहेछन्
मेरो मनको अगेनामा ।

चराहरु बाँस बसिसकेपछि
मेलो सकेर घरिएका थिए मेरा बाआमा
बन्द भैसकेको थियो निन्न्याराको गित
क्षितिजमा आँध्यारो बोकेर ओर्लदै थियो खैरो साँझ

आफ्नै अगाडी मान्छे नदेखिने कालो रातमा
अनुहारै भरी कालै दाह्री लिएर एक अंकल
लुसुक्क पसेका थिए घरमा
र मागेथे देश जनताको नाममा एकछाक खाना

मेरो बालमष्तिस्कमा के चासो थियो र ? सुनकली,
ती दाह्रीवाल अंकल को हुन ?
उनीसामु चिन्ता पोख्दै किना साउती मारिरहेछन् मेरै बाबाले ?

सिर्फ दुइटा कुराले चिमोटी रहेको थियो त्योबेला
कालो रातमा पनि एकएक बाटो ठम्याउन सक्ने
के जादु छ हँ ? ती अंकलको एकजोर आँखामा
किन बताइरहेछन बाबाको कानैमा मुख जोडेर
थर बिनाको आफ्नो निख्लो उपनाम ?

दिनहरु बित्दै गए
बितेर जाने ती दिनहरु
कहिले हाम्रा आँखा आँखामा भयावह चित्र पोतेर जान्थे
कहिले हाम्रा नशा नशामा बेजोडले रगत उमालेर जान्थे

दाह्रीवाल अंकल दिनहुँ जसो आइपुग्थे गाउँमा
उनको उपनाम जस्तै प्रिय बनेको थियो
उनले सुसेल्ने आजादीको धुन

यस्तो लाग्थ्यो,
उ त्यो पारी क्षितिजमा झुल्किने वैसालु जून
कुन दिन टपक्क टिपेर ल्याउनेछ्न ती अंकल
र राख्दिनेछ्न गाउँ शिरानको चौपारीमा
अनुहार भरी लिपेर जूनको उज्यालो
हामी खुशीले कति नाचौला हँ !!!

सुनकली,
अचेल समय फेरिएको छ
यो फेरिएको समयमा
मेरा गाउँका सामुन्नेमा उभिएका
दुःखका दुर्गम पहाडहरु उस्तै छन
नसोचेको हुरीले उडाइँ लगेको छ दुर्मुरो बिहान
तिमी जस्तै उदासी बाँडिरहेछ्न जून बेल उदाउने डाँडा

यो आफ्नो लाग्दै नलाग्ने फेरिएको समयमा
चमकदार बनेको छ ती अंकलको अनुहार
देखिन छोडेका छन झुम्म उम्रेका दाह्री
लगाउदैनन टालो टालेको अदोराना ज्याकेट
गोल्डस्टार जुत्ताको छाला छेडेर
बाहिरै निस्केका छैनन् बुढीऔलाका नङ

दिनहुँ ठाँटिन्छन् छुँदा पनि मैलो लाग्ला झै लाग्ने कोटमा
कोटको बाक्लो खल्तीले निलेको छ अंकलको उपनाम
रगत कट्कटीएको घाँटीको टाईले भन्छ–
त्यो कालो रातले जन्माएको असली परिचय मेरै हो गाउँले

सुख्खा बगर जस्तै अंकलको आँत भिजाउन
हरसाँझ तोडिन्छ ह्विस्कीको सिल
र खनिन्छ काँचको गिलासमा सहिदको रगत
निक्कै आनन्दी मिल्छ अंकललाई
रगतको चुस्कीसंग
बमले चोइट्याएका मासुका टुक्राहरु चपाउन

सुनकली,
आफ्नो लाग्दै नलाग्ने फेरिएको यो समयमा
बस्ती–बस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले
मुडा ठोसेर अगेनामा चिसारात काट्दै
यति नै बेला गाउँमा
बुढापाकाहरु बाकुनिन र पुध्रोका सिलक हालिरहेछ्न ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>