नेवानिले ल्यायो वाइडबडी विमान

२०७५ असार १४ गते, बिहीबार

काठमाडौं, १४ असार । नेपाल वायु सेवा निगमले पहिलो पटक २ सय ७४ सिट क्षमता भएको वाइडबडी विमान भित्र्याएको छ । अन्नपूर्ण नाम लिएको सो ए ३३०–२०० विमान विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । गत वैशाखमा निगमले दुई वटा जहाज फ्रान्सको एएआर किन्न सम्झौंता गरेको थियो । जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको छ । अर्को जहाज डेढ महिनापछि काठमाडौं आउनेछ । विमानमा १८ सीट विजनेश र २ सय ५६ सीट साधारण क्लासका छन् । तुलुजबाट क्याप्टेन टिआई भिन्सेन्को टर्म्यानेट र फ्लाइट अफिसर जाओ सिजर भियरा डा सिल्भाको कमाण्डमा विमान काठमाडौं ल्याइएको हो ।
निगमका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडानमा लगाइनेछ । जहाजबाट पहिलो चरणमा दुबई र दोहा उडान गर्ने निगमले जनाएको छ । जहाज नेपाल ल्याउनुअघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो । निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया पनि उडान सुरु गर्ने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु