नेवानिकाे वाइडवडी जहाजद्वारा जापान उडान सुरु

२०७६ भाद्र १२ गते, बिहीबार

काठमाडौं, १२ भदाै । नेपाल वायुसेवा निगमले पहिलोपटक जापानका लागि सिधा उडान गरेको छ । निगमको वाइडबडी जहाज १२ वर्षपछि आज बिहान २ बजेर ४२ मिनेटमा पहिलाेपटक जापानको ओसाकाको लागि उडेको हो । २ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो पहिलो उडानमा निगमका १० जना कर्मचारी पनि सवार छन् । काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ ।
निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौ–ओसाका उडान गर्ने तालिका राखेको छ । जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भैरहेको छ । जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत नै विमानस्थल पुग्ने कार्यक्रम छ ।
निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ । यो उडानसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभावलगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले २०६३ साल चैत २९ गते ओसाका उडान स्थगन गरेको थियो । यसअघि २०५१ साल कात्तिक १३ गतेबाट जापान उडान थालेको निगमले काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि उडान गर्ने गर्दथ्यो ।

प्रतिक्रियाहरु