नेपाल छैटौं प्रदुषित मुलुक

काठमाडौं, ३ कात्तिक । सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्वभर प्रदूषणसँग सम्बन्धित मुटुरोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यो कहालीलाग्दो तथ्य देखिएको ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशत प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनको निचोड छ । मुटुरोग, मस्तिष्कघात र फोक्सोको क्यान्सरजस्ता नसर्ने रोगका कारण मृत्यु भएको प्रतिवेदनले देखाएको छ । अकाल मृत्युका लागि वायु र पानीसँग सम्बन्धित प्रदूषण मुख्य कारण मानिएका छन् । अकाल मृत्युका लगभग सबै घटना न्यून र मध्यम आय भएका मुलुकमा बढी भएका छन् । ती मुलुकमा हुने मृत्युमध्ये एक चौथाइको कारण प्रदूषणसँग सम्बन्धित रोग देखिएको हो । बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा नराम्ररी प्रभावित भएको प्रतिवेदनले जनाएको छ ।
प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत पाँचौं र नेपाल छैटौं स्थानमा छ । ब्रुनाई र स्वीडेनमा प्रदूषणसँग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना भएका छन् । सन् २०१५ मा वायु प्रदूषणका कारण विश्वभर ६५ लाखको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । वायु प्रदूषणपछि अकाल मृत्यु गराउने दोस्रो ठूलो कारण पानीसँग सम्बन्धित प्रदूषण रहेको र जसका कारण सन् २०१५ मा विश्वभर १८ लाख मानिसको ज्यान गएको थियो । कार्यस्थलमा भएको प्रदूषणबाट पनि अरु ८ लाख मानिसको मृत्यु भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>