नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

२०७४ फाल्गुन १४ गते, सोमबार

काठमाडौ , १४ फागुन । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी अनुसन्धान शुरु गरेको जनाएको छ । राष्ट्रिय व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत कार्यक्रमले इलेक्टोनिक ड्रायर र रोलिङ मेसिन राखेर अर्थोडक्स चियाको गुण परीक्षणसँगै नयाँ चिया जात अनुसन्धान शुरु गरेको कार्यालयका निमित्त प्रमुख महेन्द्रप्रसाद यादवले जानकारी दिए अनुसन्धानले आफ्नै गुण र जात भएको नेपाली चिया उत्पादन गर्नेछ । चिया अनुसन्धानमा केही वैज्ञानिकको आवश्यकता रहेको छ, सो दरबन्दी पूरा भए अनुसन्धानले आगामी पाँच वर्षमा चियाको आफ्नै जात तयार गरेर विश्व बजारमा लैजाने योजना रहेको केन्द्रले बताएको छ ।
नेपाली चियाको जात नभएका कारण परेका विभिन्न समस्यालाई समाधान गर्न चिया क्षेत्रमा अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान केन्द्रमा १६ जना वैज्ञानिकको दरबन्दीमा हाल सातजनाले धनकुटा जिल्ला र इलाम जिल्लाको तीन स्थानमा अर्थोडक्स चियामा अनुसन्धान गरिरहेको यादवले बताए । झापा जिल्लामा उत्पादन हुने सिटिसी चिया र अन्य जिल्लाका उत्पादित चियामा समेत अनुसन्धान गर्न शुरु गर्ने कार्यालयको योजना रहेको यादवले बताए । धनकुटा जिल्लाको कूल ५१४ हेक्टरमा चियाखेती हुँदै आएको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।
विगत २०३९ सालबाट तत्कालीन राजा वीरेन्द्र शाहले चिया क्षेत्र घोषणा गरेका पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलगायतका जिल्लामा हाल १४ हजार ७३२ हेक्टरमा व्यावसायिक चियाखेती हुँदै आएको कार्यालयको तथ्यांकमा रहेको छ । नेपाली चियाको आफ्नै जात नहुँदा नेपालबाट विश्व बजारमा पहिचान नहुँदा दाजिलिङ, तिब्बत चियाको नाममा बाहिर निर्यात हुनेगरेको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।
अनुसन्धान केन्द्र पाख्रीबासमा चिया अनुुसन्धानसँगै हाल किसानले उत्पादन गर्ने हरियो पत्ती प्रशोधन गर्न रु १० लाखको लागतमा दैनिक ३६ किलोग्राम हरियो चिया प्रशोधन गरिँदै आएको अनुुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले धनकुटालगायत पूर्वका विभिन्न जिल्लामा उत्पादन भएका चियाको गुणस्तरको बारेमा अनुसन्धान गर्ने र प्रशोधन गर्ने कार्यसमेत अगाडि बढाएको छ ।-रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार