नेत्रले लेखे ‘घनश्यामलाई चिठी’

२०७६ बैशाख १९ गते, बिहीबार

काठमाडौँ, १९ वैशाख । कवि अशोक कुँवर ‘नेत्र’ ले बुधबार आफ्नो नयाँ कविता सङ्ग्रहलाई पाठकमाझ ल्याएक छन । पहिलो कविता सङ्ग्रह ‘आस्थाका बन्दीहरू’ पाठकमाझ ल्याएको दस वर्षपछि उनको दोस्रो कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ पाठकमाझ आएको हो । कवितामार्फत समाज परिवर्तन र रूपान्तरणको स्वर उराल्ने कवि कुँवरका ३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, समालोचना प्रकाशन हुँदै आइरहेका छन् ।
बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन भएको हो । पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने समालोचक डा. रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसका साथै सम्मान सत्रमा प्रदेश नं. ३ का प्रदेश सांसद रामेश्वर फुयाल, साहित्यकारहरू मधुसूदन पाण्डेय, बिमल कोइराला, विश्वप्रेम अधिकारी, यदुनाथ बसन्तपुरे, राधा दुलाल कार्की सम्मानित हुनुभयो ।
नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा क्रियाशील कुँवरको उक्त पुस्तकमा जम्मा ५० कविताहरू सङ्गृहीत छन् । सङ्गृहीत कविताहरूले समसामयिक प्रदूषित राजनीतिक प्रणाली, राजनीतिक दलका नेताहरू, भ्रष्ट प्रशासक, विकृति, विसङ्गति, दुराचार प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ ।

प्रतिक्रियाहरु