नेता आदर्श र विश्व पुन : पक्राउ

काठमाडौँ , २४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई दाङमा प्रहरीले पुन: पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराही दाङमा राखिएका नेताद्वयलाई सर्वाेच्च अदालतले शुक्रबार थुनामुक्त गर्न आदेश गरे पनि प्रहरीले पुन: पक्राउ गरेको हो । दाङ प्रहरीले केन्द्रीय सदस्य चुडामणि ओली आदर्श’लाई सुनसरी पठाउने तयारि गरेको बुझिएको छ । यता लालबहादुर ओलीलाई भने गृह जिल्ला रोल्पा पठाउने तयारि गरेको स्रोतले बताएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको थियो ।
५२ वर्षीय चुडामणि र ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतमा शुक्रबार भएके बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।
साविकको ठेगाना जिनवाङ गाविस भई हाल गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा आदर्श र विश्व दाजुभाई हुन् । दाजु नेकपाका केन्द्रीय सदस्य हुन् भने भाई लालबहादुर स्थानीय नेता हुन् ।
आदर्शसहित तीन नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो । सोही अभियोगका अभियुक्त नेकपाका केन्द्रीय सदस्य चद्रबहादुर खड्का ‘असल’लाई भने राज्यले लगाएको अभियोग र कसुरसम्बन्धी माग दाबीमा आधार र प्रमाण नदेखिएको भन्दै सर्बोच्चले यहि जेठ ७ गते रिहा गरेको थियो । रिहा लगतै असललाई पुन: गिरफ्तार गरेर दाङ प्रहरीले सुनसरी पठाएको थियो । खड्कालाई प्रहरीले हातहतियार खरखजना तथा संगठीत अपराध सम्बन्धी मुद्धा लगाएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>