नेकपाले देशब्यापिरुपमा एमसीसी सम्झौता जलायो

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौँ , २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौतापत्र जलाएको छ । सो पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौँ जिल्ला समितिले विभिन्न ठाउँमा एमसीसीको सम्झौतापत्र जलाएको छ । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने कार्यसूचीअनुसार मङ्गलबार काठमाडौँका गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकाली, तारकेश्वर, टोखा, बूढानीलकण्ठ नगरपालिकाका साथै काठमाडौँ महानगरपालिकाका कोटेश्वर, सानोभर्याङ र ताहाचलमा सम्झौतापत्र जलाइएको जिल्ला कार्यालयले जनाएको छ । केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको उक्त राष्ट्रघाती सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध रहेकाले उक्त राष्ट्रघाती आपराधिक कार्यको विरोधस्वरूप उक्त सम्झौता जलाइएको हो । सरकारले पार्टीमाथि लगाएको प्रतिबन्धको वास्ता नगरी जिल्लामातहत रहेका पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता, कार्यकर्ता र स्थानीय देशभक्त जनताको उल्लेख्य उपस्थिति रहेका कार्यक्रमहरूमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद ! लगायत नाराहरू लगाइएको जानकारी नेकपा काठमाडौँले दिएको छ ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार पार्टीको केन्द्रीय योजनाअनुसार नेपाल सरकार संसद्बाट पास गराउन लागेको एमसीसी परियोजनाको सम्झौतापत्र जलाएको छ । दैलेख जिल्लाका गाउँपालिका र नगरपालिकाका ५ ठाउँमा सम्झौतापत्र जलाइएको समाचार प्राप्त भएको छ । जिल्लाका ठाँटीकाँध गाउँपालिकामा सङ्केत र लालबहादुर भण्डारी, आठबिस नगरपालिकामा प्रकाश र सुदर्शन, नौमुले गाउँपालिकामा भूपेन्द्र र गुराँस गाउँपालिकामा जिल्ला सेक्रेटरी मदुरोको नेतृत्वमा कार्यक्रम सम्झौतापत्र जलाइएको हो । कार्यक्रममा एमसीसी सम्झौताविरुद्ध नारा पनि लगाइएको जनाइएको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरले जेठ १९ र २० गते जिल्लाका महानगरपालिका, नगरपालिका र विभिन्न ठाउँमा जिल्ला पार्टीको नेतृत्वमा केपी–पीकेको कथित कम्युनिस्ट सरकारले संसद्बाट पारित गर्न लागेको राष्ट्रघाती परियोजना एमसीसीको सम्झौतापत्र जलाएको समाचार प्राप्त भएको छ ।
यसैक्रममा युवा सङ्गठन नेपालले बाँकेमा एमसीसी सम्झौतापत्र जलाएको छ । देशलाई डिवदेशीको रणमैदान बनाएर नेपालीको रगत बगाउने योजनासाथ राष्ट्रघाती एमसीसी सम्झौता गरिएको भन्दै सङ्गठनले उक्त सम्झौतापत्र जलाएको हो ।
यसैक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कालीकोटले जिल्लाका विभिन्न गाउँपालिका, वडा र स्थानमा राष्ट्रघाती एमसीसी सम्झौता जलाएको समाचार प्राप्त भएको छ । केपी–पीके नेतृत्वको नक्कली कम्युनिस्ट सरकारले संसद्बाट पारित गर्न लागेको राष्ट्रघाती सम्झौता एमसीसीको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले निर्धारण गरेको केन्द्रीय कार्यक्रमअन्तर्गत अखिल (क्रान्तिकारी) जिल्ला समिति कालीकोटले २० गते जिल्लाभरि सम्झौतापत्र जलाएको जानकारी सङ्गठनका सचिव तदेन्द्र ऐडीले दिए ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति नेपाल केन्द्रीय समितिअन्तर्गत सम्पर्क मञ्चले उपत्यकाकाका विभिन्न ठाउँमा अमेरिकी एमसीसी परियोजनाको सम्झौतापत्र ११ ठाउँमा जलाएको जानकारी सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले दिएका छन् । उनका अनुसार जाउलाखेलमा मुक्तक लामाको नेतृत्वमा, नयाँबानेश्वरमा दीपक थापामगरको नेतृत्वमा, बागबजारमा शम्भु आचार्यको नेतृत्वमा, बालुवाटारमा टीका चौधरीको नेतृत्वमा, बौद्धमा अनिल राईको नेतृत्वमा, सुकेधारामा क्रान्तिको नेतृत्वमा, चक्रपथमा खेम प्रधानको नेतृत्वमा, म्हैपीमा प्रतीक अधिकारीको नेतृत्वमा, लैनचौरमा नारायण रिमालको नेतृत्वमा, जडीबुटीमा रूपक श्रेष्ठको नेतृत्वमा, चाबहिलमा निश्चल थापाको नेतृत्वमा, कोटेश्वरमा सलोन तामाङको नेतृत्वमा सम्झौतापत्र जलाइएको हो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसी सम्झौतापत्र जलाएको समाचार प्राप्त भएको छ । पाल्पाको रम्भा गाउँपालिकामा सम्झौतापत्र जलाइएको नेकपा पाल्पाले जनाएको छ । सम्झौतापत्र जलाएपछि युवा सङ्गठन नेपाल पाल्पाका नेता रक्तिमले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसद्बाट पास हुन नदिन देशभक्त नेपालीहरु सङ्घर्षमा उत्रिनुपर्ने बताए । उनले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको भन्दै यो सम्झौता संसद्बाट पास भए नेपाल अमेरिकी सेनाको क्रीडास्थल बन्ने बताए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जलाएको छ । सम्झौताको ७७ पृष्ठको नेपाली प्रति जलाउँदै नेकपा रूपन्देहीका इन्चार्ज सङ्गम पुनले एमसीसी देशका लागि घातक रहेको बताए । उनले देशको मालिक नागरिक नै हुनुपर्छ भन्दै दलाल नेताहरूले देशको सम्पत्ति अमेरिकाका गोराहरूलाई बुझाउन खोजेको टिप्पणी गरे । उनले संसद्बाट एमसीसी कुनै हालतमा पास नगर्न चेतावनी दिँदै पास गर्ने चेष्टा गरेमा सबैमाथि भारी पर्ने र नेकपाले एमसीसी सञ्चालन हुन नदिने घोषणा गरे । रूपन्देहीको बुटवलमा भएको विरोधसभामा जनतालाई पनि एमसीसी जलाउन अपिल गरिएको थियो । देशभरजस्तै एमसीसीविरुद्ध नेकपा रुपन्देहीको कार्यक्रम बुटवलमा गरिएको हो ।
यस्तै लुम्बिनी ब्युरोका ८ वटै जिल्लामा समेत एमसीसी जलाइएको समाचार प्राप्त भएको छ । नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पालगायत जिल्लाहरूमा समेत एमसीसी जलाइएका समाचारहरू प्राप्त भएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु