नेकपाद्वारा रूख कटानी र तस्करीमा प्रतिबन्ध

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ , २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले मनपरी बन फडानी गर्न रोक लगाएको छ । सरकारी भ्रष्टाचार र लूटको नयाँ आयामका रुपमा ‘वैज्ञानिक बन व्यवस्थापन कार्ययोजना’ का नाममा बनभित्रका हरिया, ठूलाठूला रूख काट्ने र सामुदायिक बन समितिका पदाधिकारी, ठेकेदार, बनमाफिया, बन कार्यालयको मिलोमतोमा काठ तस्कर गर्ने गरेको पाइएकाले प्रतिबन्ध लगाइएको नेकपा कञ्चनपुरले जनाएको छ । जिल्ला पार्टीसचिव रविले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वली–दाहाल नेतृत्वको सामाजिक दलाल पुँजीवादी प्रवृत्ति तथा उनीहरुको राष्ट्रघाती, जनघाती र फासिस्ट चरित्रका विरुद्ध हामी निरन्तर सङ्घर्षमा छौँ । गाउँगाउँमा सिंहदरबारको नाराले मुठीभर दलालहरूलाई वैधानिक रूपमा भ्रष्टाचार गर्न छूट गरेको छ । नेपाली जनतालाई दोहोरो–तेहेरो कर, महँगी, बेरोजगारी, अशान्ति, असुरक्षाको आहालमा डुबाएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा ‘कङ्गाल नेपाल, दुःखी नेपाली’ हुन गएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो दलाल सरकारको भ्रष्टाचार र लूटको नयाँ आयाम वैज्ञानिक बन व्यवस्थापन कार्ययोजनाको अवधारणा ल्याएर बनभित्रका हरिया, ठूलाठूला रूख काट्ने र सामुदायिक बन समितिका पदाधिकारी, ठेकेदार, बनमाफिया, बन कार्यालयको मिलोमतोमा काठ तस्कर गर्ने कुनियत यिनीहरुको व्यवहारले स्पष्ट हुन गएको छ । स्थानीय उपभोक्तालाई भ्रममा पारेर जनताको जनजीविकालाई प्रत्यक्ष असर पर्ने गरी रूख कटानी भइरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पार्टीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मापदण्डविपरीत पर्यावरणको ख्यालै नगरीकन बन विनाश हुने गरी हुन गइरहेको रूख कटानीकार्यमाथि नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले प्रतिबन्ध लगाएको यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ । कञ्चनपुरका विभिन्न क्षेत्रमा वैज्ञानिक बन कार्यक्रमका नाममा भइरहेको रूख कटानी तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ । जनताको, देशको प्राकृतिक सम्पत्ति अन्धाधुन्ध नष्ट गर्ने, यस्तो घृणित, आपराधिक कार्य तत्काल नरोकिए दोषीमाथि कडाभन्दा कडा कारबाही गरिने जानकारी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु