नेकपाको संघर्ष सशक्त बन्दै ,वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष

२०७६ कार्तिक १७ गते, आईतवार

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष गर्दै आफ्नो चरणबद्ध संघर्षका कार्यक्रमलाई तिब्रता दिएको छ । उसले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाएको हो । सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र, दलबहादुर खत्री, अमित घर्ती, पोष्टमान घर्ती, सुनिल पौडेल, एकराज चौधरी, धनबहादुर बोहोरा ‘महान’, तिलक पुन, सुरज विक, हितप्रसाद रोका, कुलबहादुर वली, सञ्जयलाई राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानमा राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज ३० गते रातको २ बजे प्रहरीले घर घेरा हाली गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखी रहेको छ ।
सो गैरन्यायिक गिरफ्तारीको बिरुद्धमा सो पार्टीले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो । यसैक्रममा सो पार्टीले कार्तिक ३ गते देशभर जुलुस र प्रदर्शन गरेको थियो भने कार्तिक ५ गते देशभर कोणसभा र पिँढीसभा सम्पन्न गरेको थियो । यसैगरी कार्तिक ७ गते देशभर प्रधानमन्त्री ओलीको पुत्ला दहन र कार्तिक ९ गते देशभर विरोध प्रदर्शन गर्दै कार्तिक १५ गते देशभर मसाल जुलुस प्रदर्शन गरेको छ भने आज कार्तिक १७ गते (आइतबार) बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने जनाएको छ ।
आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्जसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तारीमा परेपछि महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी दिएका थिए । यस बिषयमा गत असोज ३० गते महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गए राति केपी वलीको फासिवादी सरकारले हाम्रो पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कमरेड वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको छ । उक्त सामाजिक फासिवादी गिफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ ।’
महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’ महासचिवको विज्ञप्तिमा लेखिएको छ, ‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिवरुद्ध दिनप्रतिदिन घोर निरङ्कुश, सर्वसत्तावादी एवम् फासिवादी बन्दै गएको छ । देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरूमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ । हामी केपी सरकारको निरङ्कुश एवम् फासिवादी दमनका विरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवि, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई विशेष अपिल गर्दछौँ ।’
महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद—साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु