निकुञ्जमा बसेर चित्र कोर्दै

२०७४ कार्तिक २३ गते, बिहीबार

काठमाडौं, २३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ । नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त छन् । चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् ।
आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेजमा कलाकारहरु बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् । प्रकृतिका लागि कला भन्ने नारा सहित आएका कलाकारको १७ सदस्यीय टोलीमा दुई जना विदेशी छन् । उनीहरु भारत र रसियाका हुन् । १० दिनसम्म चित्र कोर्ने कलाकार टोलीले आरक्ष र नजिकको वस्ती अवलोकन गरेपछि आफूले देखेका दृष्यलाई चित्रमा उतार्न थालेका हुन् ।
शुक्लाफाँटा निकुञ्ज र आसपासको प्राकृतिक दृष्य, संस्कृति, रहनसहनलगायतका विषयलाई चित्रमा उतारिने कलाकारहरुले बताएका छन् । सबै कलाकारले दुई दुई वटा चित्र बनाउने छन् । ती सबै ३४ चित्रलाई रिलिप फण्ड फोर आर्ट अफ नेचरमा प्रदान गरिनेछ । कलाकारले बनाएका चित्रबाट शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसारमा टेवा पुग्ने होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले जानकारी दिए ।

प्रतिक्रियाहरु