नाङ्गो सत्य – बलराम तिमल्सिना

निधारभरि बोकेर हस्तिनापुरको
पैतालाको धूलो
देशका बडाहाकिम जव फर्किन्छन्
कैयन दिनसम्म मुख धुदैनन्
तिर्थको धूलो नपखालियोस भनेर !

अन्टसन्ट बोल्दै गएपनि ती
फर्कने वेलामा पूरै ज्ञानी बन्छन्
र महिनौं याद गरिरहन्छन् उताको
अरवमा रहेको वैंशालु मान्छेले
संझे जसरी मधुमासका दिनहरू !

चि चि चि बोल्दै गएकाहरू
चि उतै विसाउँछन् र फर्कन्छन्
दि दि दि बोल्दै
वर्षौं बोल्दैनन् चि
ती सातो गएजस्तै बनेर फर्कन्छन् !

हस्तिनापुरबाट फर्केपछि
एताको केही न केही गायव हुन्छ
कैले हाम्रा पवित्र नदीहरू हराउँछन्
कैले समतलका फाँटहरू हराउँछन
त्यतिमात्र होइन
केन्द्रीय सरकारी बहिखाताबाट
चि लेखेका केही फायलहरू हराउँछन्
केही पुराना सपनाहरू हराउँछन् र
केही लाज शरमवाला सपना थपिन्छन !

धर्मका तिर्थ त उता छन् छन्
राजनीतिका तिर्थ पनि उतै छन्
जे जे सिकाउँछन् पण्डाले
देशका बडा हाकिमहरू
अर्थात उताका अर्दलीहरू
निधारभरी घसेर हस्तिनापुरको धूलो
उतैको भाषा सिकेर आउँछन् !

अहिलेसम्म कोही पनि
हस्तिनापुरबाट फर्कदा
भर्जिन दिमागले फर्केन
फर्क्यो त केवल दोजिया बनेर
बोकेर भ्रुण हस्तिनापुरको फर्क्यो
र जन्माइरह्यो उतैको बिहान
जुन विहानले ल्याएको घामले
कहिलै सेकेन नेपालीको आङ !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>