नागरिकको सानो रहर– बलराम तिमल्सिना

२०७६ कार्तिक ३० गते, शनिबार

त्यसो त सरकार
नागरिकहरूका अनेकन रहर छन्
ती रहरहरू अन्यथा पनि होइनन्
तर अहिले
ती सवै रहरहरू थमौती गरेका छौ
र एउटा सानो रहर वारे
सरकारसँग विन्ती बिसाउँदै छौं
हामीलाई थाहा छ
हजुरसँग ठूलो रहर विसाउँनु भनेको
हामी आफै मूर्ख बन्नु हो ।

सरकार ,
हजुर आत्तिनु पर्दन
हजुरलाई अप्ठेरो पर्ने कुनै रहर होइन
हजुरको कद घट्ने त झनै होइन !

अहिले
निर्मला न्याय पनि भुलिदिउँला
वाइड बडी वहस पनि छोडिदिउँला
सुन काण्डका सवाल पनि सामसुम पारौंला
वालुवाटार काण्ड भ्रम रैछ भनौंला
अरु ज्ञात अज्ञात काण्डहरू
केही दिन ति पनि बिर्सिदिउँला !

हामीलाई
हजुरलाई काँधमा बोकेर हिड्न मन छ
हामीलाई
हाम्रा दुखहरूसँग भिड्न मन छ !

हजुर त हाम्रो देशको नायक
हजुर त देशभक्तिको गायक
हजुर त सवैभन्दा लायक
हजुरसँग एउटै सानो रहर छ !

हजुरले ढाल तरवार बोक्नु पनि पर्दैन
त्यो त उहिलैका कुरा भए सरकार
हजुरको गाथले त्यो थेग्दा पनि थेग्दैन
हजुरले बन्दूक पड्काउँनु झनै पर्दैन
त्यो हजुरको सिध्दान्तमै छैन
हजुरले
कसैका गाला चड्काउँनु पनि पर्दैन
हजुर प्राय हातले भन्दा
बातले चड्काउँन सिपालु हुनुहुन्छ
हजुरलाई सजिलो कुरा भन्छौं !

हजुरले
चुनावताका फहराएको
त्यो झण्डा छ नि सरकार
त्यो राष्ट्रिय झण्डा क्या
हजुरले ऐले फहराएको हेर्ने रहर छ
यी हाम्रा भोका आँखाहरूलाई
अघाउँजी धोको फेर्ने रहर छ
के सरकार राजी हुनुहुन्छ ?

हजुर त राष्ट्रवादी सरकार
भित्र भित्र कुरा काटे पनि
बाहिर सवैले यसै भन्छन्
हजुरलाई
खुइलिदै गएको राष्ट्रवादमा
फेरि रङ्ग पोत्ने अवसर आएको छ
फेरि गफ जोत्ने अवसर आएको छ
यो अवसर पटक्कै छोड्नु हुन्न
मरि गए कुरा अन्त मोड्नु हुन्न
लौ सरकार
दश औली जोडेर बिन्ती विसायौं
सवैका कुरा एकै ठाम मिसायौं
हाम्रो रहर पुरा गरिदिनोस
एक पटक कुर्सीबाट भुइँमा झरिदिनोस !

हामी जनताको कत्रो रहर छ
हजुर कट्टर राष्ट्रवादी भएको
हामी ववुराहरूको भव्य ठहर छ
एक पटक सडकमा आइदिनोस
“रातो र चन्द्र-सूर्य” गाइदिनोस !

कैले काहीं
रहर गर्यो रहरकै दुख भैदिन्छ
कतै हाम्रो यो फुच्चे रहर
अनायास
अनायास सहिद त बन्दैन नि सरकार ?

प्रतिक्रियाहरु