नक्कली भारु लिन जाँदा युनुस अन्सारीसहित ६ जना पक्राउ

२०७६ जेष्ठ १० गते, शुक्रबार

काठमाडौं, १० जेठ । नेपाल प्रहरीले करोडौंको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुसमियाँ अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जानेक्रममा उनीहरुलाई शुक्रबार बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । ‘एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारु फेलापरेको छ । अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ’–रञ्जितकाले भने । पक्राउ पर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एअरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीनजना पैसा लिन विमानस्थल पुगेका थिए । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु