धन्न सरकार झुक्किनु हुन्न – बलराम तिमल्सिना

२०७६ असार १६ गते, सोमबार

हरेक साँझ
सरकार आफ्नै घर पुग्नु हुन्छ
आफ्नै ओछ्यानमा सुत्नु हुन्छ
आफ्नै श्रीमतीसँग मस्किनु हुन्छ
धन्न सरकार झुक्किनु हुन्न
झुक्किए पनि कुरा चुहुदैन
र आजसम्म कुनै ववाल भएको छैन ।

कुनै साँझ
मदिराले अर्ध-बेहोसी भएको बखत
धेरै पटक झुक्किनु भयो सरकार
छिमेकीको ढोका ढकढकाउँनु भयो
होटलवालीका गाला मुसार्नु भयो
आतिथ्यता गरेकै ओछ्यानमा
धेरै पटक सु उम्काउँनु भयो
कति पटक त सरकार
पर्खाल चढ्दा चढ्दै खुर्मुरिनु भयो
तर,
सरकारको शक्तिका सामु
सारा तथ्यहरू निरिह भए
सवै साक्षीहरू निर्जीव भए
यसरी
सरकारको जगजगीको समयमा
ती सवै घटना सामसुम भए
पटक पटक झुक्किएर पनि
लोकले जिब्रो झिकेर भन्छ-
धन्न सरकार झुक्किनु हुन्न!

सभासदको टिकट वाँड्दाको बखत
या नियुक्तिको नाम छान्दाको बखत
त्यत्रो कार्यकर्ताको भीडमा
सवैभन्दा पहिले
आफ्नै श्रीमती संझनु भयो
छोरी बुहारी संझनु भयो
साला साली संझनु भयो
भाइ भतिजा संझनु भयो
त्यत्रो तनाव , त्यत्रो भिडभाड
त्यत्रो दवाव , त्यत्रो भनसुन
पटक पटक झुक्किनु पर्ने हो
सरकार नै भएर मात्रै हो
धन्न सरकार झुक्किनु
ट्याक ट्याक आफन्त छान्नु भयो ।

सरकार
आफ्नो उद्देश्यमा प्रष्ट हुनु हुन्छ
को आफ्नो को पराई चिन्नु हुन्छ
कसलाई उचाल्ने
कसलाई पछार्ने बुझ्नु हुन्छ
कसलाई निचोर्ने
कसलाई चिथोर्ने भेउ पाउँनु हुन्छ
जति धेरै झुक्किए पनि
आफ्नो हीत हुने कुरामा
सरकार कहिलै झुक्किनु हुन्न
एति धेरै धपेडी छ
एति धेरै मारामार छ
धन्न सरकार झुक्किनु हुन्न ।

प्रतिक्रियाहरु