देशैभर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

२०७६ कार्तिक २७ गते, बुधबार

काठमाडौँ, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार मङ्गलबार देशैभरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ । भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेपछि नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको हो । यसैक्रममा कैलालीका धनगढी उपमहानगरपालिका, लम्की नगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा मोदीको पुत्ला र भारतले जारी गरेको नयाँ नक्सा जलाएको बताइएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, बर्दिया, कपिलवस्तुको शिवराज नगरपालिका, बाणगंगा नगरपालिका, नवलपुरको सिजी क्षेत्र, चितवनको कालिका, खैरहनी, रत्ननगर, राप्ती, माडी नगरपालिका र भरतपुर महानगरपालिका पुत्ला र नक्सा जलाएको समाचार छ । यस्तै कास्की, कालिकोट, दाङ, रुपन्देही, अर्घाखाँची, मकवानपुर, रोल्पा, झापा, धनकुटा, सुनसरी, मोरङका विभिन्न स्थानमा मोदीको पुत्ला बनाएर मट्टितेल र पेट्रोल छर्केर आगो लगाएका छन् ।
पुत्ला दहनमा सहभागीहरुले ‘भारतीय साम्राज्यवाद मुर्दावाद ! दलाल सामाजिक फासिवादी संसदीय व्यवस्था मुर्दावाद !! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद !!’ नारा लगाएका थिए ।
विरोध कार्यक्रमअनुसार नेकपाले यही कात्तिक २१ गतेयता मात्र देशैभरि मशाल जुलुस, कोणसभा र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरिसकेको छ । लिपुलेक लगायत नेपाली भूभाग अतिक्रमण फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै आइतबार भएको विरोध प्रदर्शनबाट ४२ विद्यार्थी र सोमबार नेपालका लागि भारतीय राजदूतावासमा ज्ञापन बुझाउने क्रममा ८ जनालाई नेता कार्यकर्तालाई प्रहरीले गिरफतर गरेको छ ।
गिरफ्तारमध्ये चार जना विद्यार्थीलाई भने रिहा गरेको जनाएको छ । भोलि २७ गते सीमा अतिक्रमणबारे जानकारी दिन नेपालस्थित संयुक्त राष्ट्रको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पार्टीका महासचिव विप्लवद्वारा कार्तिक २० मा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सीमा अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा विप्लव नेकपामाथि सरकारले अपनाएको रवैयाको सबैतिरबाट चर्को आलोचना भइरहेको छ । देशको माटो जोगाउने विषयमा सरकार गम्भीर नभएको भन्दै राजनीतिक दलसंवद्ध विद्यार्थी र युवाहरुले सडकबाटै प्रधानमन्त्रीको राजीनामा माग्न शुरु गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु