दुई दर्जन अधिकारकर्मी पक्राउ

२०७५ असार २६ गते, मंगलवार

काठमाडौं, २६ असार । प्रहरीले मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित २५ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । उनीहरुलाई सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शन गर्न खोज्दा पक्राउ गरिएको हो । धर्ना सुरु हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाइँलगायत २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । मानव अधिकार तथा शान्ति समाजले सरकारले स्वेच्छाचारी निर्णय र स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै आन्दोलन सुरु गरेको हो ।
धर्नामा ‘स्वतन्त्रताविरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवनरक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । सरकारले आधारभूत स्वतन्त्रता र मानवअधिकार कुन्ठित हुनेगरी निर्णय गरेको, न्यायिक निर्णयहरुलाईसमेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको तथा हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रूर बनेको शान्ति समाजले आरोप लगाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु