दुई कोरियाबीचको बार्ता रद्द

२०७५ जेष्ठ २ गते, बुधबार

काठमाडौं, २ जेठ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो ।
उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ । अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो । उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन । -एजेन्सी

प्रतिक्रियाहरु