दुई कोरियाको सम्बन्ध सुध्रिने संकेत

२०७४ माघ २७ गते, शनिबार

काठमाडौं, २७ माघ । शीतकालीन ओलम्पिकको २३ औं संस्करण दक्षिण कोरियामा सुरु भएको छ । ओलम्पिकको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो जोङलगायतको सहभागिता थियो । उत्तर र दक्षिण कोरियाको तनावपूर्ण सम्बन्धका बीच सुरु भएको प्रतियोगिताले सम्बन्ध सुधारमा सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीहरूले सँगसँगै मार्च गरेका थिए । दुई कोरियाका खेलाडीहरू संयुक्त झण्डामुनि रंगशाला प्रवेश गर्दा दर्शकहरुले स्वागत गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले प्योङ्चाङमा उद्घाटन समारोह अघि अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाका राष्ट्र प्रमुख किम योङ-नामलाई रात्रिभोजमा निम्त्याएका भए पनि पेन्सले ५ मिनेटमै भोजस्थल छाडेका थिए । राष्ट्रपति मून र जापानी प्रधानमन्त्री शिन्जो आबे दुवैले उत्तर कोरियाली राष्ट्र प्रमुखसँग हात मिलाएका थिए भने उपराष्ट्रपति पेन्सले त्यसो नगरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । रात्रीभोजका अवसरमा राष्ट्रपति मूनले शीतकालिन ओलिम्पिक्सलाई शान्तिको आरम्भ भएको दिनका रुपमा स्मरण गरिने बताए । – एजेन्सी

प्रतिक्रियाहरु