दक्षिण कोरियासँग ‘नयाँ इतिहास’ लेख्ने उत्तर कोरियाको इच्छा

काठमाडौं, २२ फागुन । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने चाहना व्यक्त गरेका छन् ।
दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले दक्षिण कोरियासँग नजिकको सम्बन्ध स्थापना गर्ने सन्दर्भमा यस्तो धारणा अगाडि बढाइने बताएको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ ।
उत्तर कोरियाली नेताले दुई मुलुकका नेताबीचको सम्बन्ध सुधारका लागि तीब्र गतिमा व्यावहारिक कदम चाल्न सुझाव दिएका थिए । उत्तर कोरियाली शासकले दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँग डिनर मिटिङ गर्दै सुझाव दिएका हुन् । १० सदस्यीय टोलीमा दुई जना मन्त्रीसहित गुप्तचर प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहाकारलगायत छन् । किमले दक्षिण कोरियाली टोलीलाई हार्दिकता पूर्वक स्वागत गर्दै खुला हृदयले कुराकानी गरेको केसीएनएले जनाएको छ । दक्षिण कोरियाली प्रतिनिधिले राष्ट्रपति मुन जे इनको वार्ता, सम्बन्ध सुधार र कोरियाली प्रायःद्वीपमा निशस्त्रीकरणको सन्देश किमलाई हस्तान्तरण गरेको जनाइएको छ ।
सन् २०११ मा शासन सम्हालेपछि सोलका तर्फबाट किमसँगको यो पहिलो भेट हो । गत महिनाको दक्षिण कोरियामा आयोजित विन्टर ओलम्पिक्स् पछि दुई कोरियाको सम्बन्ध सुमधुर बन्दै गएको छ । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>