त्रिबि इतिहास विभागमा विद्यार्थी भर्ना शून्य

काठमाडौं , १४ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इतिहास केन्द्रीय विभागमा दुई वर्षदेखि विद्यार्थी नै भर्ना भएका छैनन् । केन्द्रीय विभागमा विद्यार्थी नआउँदा १० जना प्राध्यापकहरु तलब खाएर बस्नबाहेक केही गर्न सकेका छैनन् । यस विभागमा अहिले दुईजना पीएचडी गर्ने विद्यार्थी, १० जना प्राध्यापक र दुईजना कार्यालय सहयोगीमात्र रहेको केन्द्रीय विभाग प्रमुख प्रा. डा. शंकर थापाले बताए । वि.सं. २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा इतिहास विषयको पठनपाठन हुन थालेको हो । इतिहासलाई जीवन्त बनाइराख्ने इतिहासजस्तो विषयमा दुई वषदेखि पढाइ नहुँदासमेत त्रिविले कुनै चासो देखाएको छैन ।
प्राध्यापक र कर्मचारीहरुको तलब–भत्तामा वार्षिक एक करोड ४० लाख रुपैयाँ खर्च हुन्छ । तर, उपलब्धि भने शून्य छ । इतिहास विषयप्रति विद्यार्थीको घट्दो रुचिप्रति त्रिविले कुनै चासो नदेखाएको गुनासो प्राध्यापकहरु गर्छन् । तलबबाहेक अन्य रकम नदिँदा आफूहरुले पनि केही गर्न नसकेको उनीहरुको भनाइ छ । तर, विद्यार्थी आएनन् भनेर केन्द्रीय विभाग नै बन्द गर्ने पक्षमा भने आफूहरु नरहेको प्राध्यापकहरुले बताए । अहिले विद्यार्थीको रुचि घटेपनि पछि इतिहासप्रति चासो देखाउँदै विद्यार्थी आए भने त्रिविमा यो विषय छैन भनेर आफूहरु पन्छिन नमिल्ने केन्द्रीय विभाग प्रमुख डा. थापा बताउँछन् । केन्द्रीय विभागमा पठनपाठनसँगै अनुसन्धान पनि गर्नुपर्ने हुन्छ । प्राध्यापकहरुले आफ्नै खर्चमा अनुसन्धानको काम अघि बढाउँदा पनि त्यसलाई थप व्यवस्थित गर्न त्रिविले कुनै चासो नदेखाएको प्राध्यापकहरुको गुनासो छ । त्रिविको वातावरण देख्दा भने जो–कोहीलाई अचम्म लाग्नसक्छ । जताततै घाँसैघाँस र वस्तुभाउ देख्दा विश्वविद्यालय हो र ? भन्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>