त्रसित मन – कल्पना घर्ती थापा

२०७६ असार २५ गते, बुधबार

भयभीत छ मन त्रसित छ
देशमा अपराधको आतंक मच्चिएको छ
दिनहुुँ
एकपछी अर्को शृङ्खला बद्द
कहालीलाग्दो घटनाले म निदाउन सकेकी छैन
निन्द्रा लागोस् पनि कसरी ?
अबोध ,नाबालक शिशु देखि
युवा ,वृद्ध सबै अपराधको सिकार भएका छ्न
घर भित्र होस् या घर बाहिर
को कतिबेला काल बनेर तेर्सिन्छ पत्तै हुँदैन
अहिले यस्तो परिस्थिति बनिसकेको छ
मान्छे काट्नु
मुला काट्नु बराबर भएको छ
बिना गल्ती ,बिना कारण
को बाट मृत्युको सजाय भोगिन्छ
मनमा एउटै त्रास छ
दोधारमा छिन् एउटी आमा
उनको कोखमा हुर्कदै गरेको भ्रुणलाई
यो सन्सारमा जन्म दिउँ या नदिउँ
मानवता अनि मानवीयपन नै गुमिसकेको हाम्रो देशमा
भोलि यो धर्तीमा टेकेर
उसले कस्तो शिक्षा पाउला
चिन्ता छ उनीलाई
उनको कोखमा ऊ जति सुरक्षित छ
काखमा सुरक्षित हुन सक्छ कि सक्दैन
स्कुल गएको बालक घर नफर्कुन्जेल
सकुशल फिर्ता हुन्छ कि हुँदैन
कहिँ कतै
आफ्नै
काका ,मामा,दाई ,छिमेकी, शिक्षक भनाँउदाहरुले
लालिपप देखाएर ,डेरिमिल्क देखाएर
आफ्नो जवानीको प्यास पो मेटाँउछन् कि
डर छ उनीलाई
कुनै अन्धबिश्वासमा परेर
आफू दैविक शक्ति प्राप्त गर्छु भन्दै
त्यो बालकको बलि पो चढाँउछ्न् कि
चिन्ता छ उनीलाई
त्यो चिचिलालाई
जोगाएर फूल बनाउन सक्छु कि सक्दिन
उनको सारा कुरा सुनिसकेपछी म मौन रहे
म सङ्ग उनको प्रश्नको जबाफ थिएन
हो यस्तै ,यस्तै कुरा मनमा खेलेर म
निदाउन सकिन
म निदाउ पनि कसरी ?
मेरो गाउँ शोकमा छ
मेरो शहर त्रासमा छ
भयभीत छ्न मानिसहरु
बिचलित छ्न मनहरु
अपराधको बजार फस्टाएको छ
आतंकले मुटु हल्लाएको छ

शान्तिको दियो बाल्न चाहन्छु
कुरिती ,कुप्रथा फाल्न चाहन्छु
जातित्वको भेदभाव हटाउन चाहन्छु
एकआपसमा मेलमिलाप बढाउन चाहन्छु
तर
एक आवाजले सम्भव कसरी हुन्छ?

प्रतिक्रियाहरु