तेस्रो लिंगीलाई प्रहरीमा भर्ना हुने अवसर

२०७४ माघ २९ गते, सोमबार

काठमाडौं, २९ माघ । भारतको छत्तीसगढ राज्यमा तेस्रो लिंगीलाई पनि प्रहरीमा भर्ना हुने अवसर प्रदान गरिएको छ । छत्तीसगढ सरकारले प्रहरीमा २ हजार २५९ सीटका लागि आवेदन खुला गरेको छ । यसमध्ये केही सिटमा तेस्रो लिंगीले पनि अवसर पाउने भएका छन् । छत्तीसगढ सरकारको समाज कल्याण मन्त्री रमशीला साहुका अनुसार तेस्रो लिंगी समुदायका जोकोहीले आफ्नो सुविधा अनुसार महिला वा पुरुष वर्गमा आवेदन दिन सक्नेछन् । जुन वर्गमा उनीहरुले आवेदन दिनेछन्, सोही अनुरुप शारीरिक मापदण्ड पुरा गरेर तेस्रो लिंगीले सेवाको अवसर प्राप्त गर्ने पनि उनले बताइन् । ‘छत्तीसगढ भारतको त्यो पहिलो राज्य हो, जसले तेस्रो लिंगी कल्याण बोर्ड गठन गरेको छ,’ मन्त्री साहुले भनिन्, ‘तेस्रो लिंगीले पनि समाजमा समान अधिकार प्राप्त गरुन् र सबै सरकारी योजनाको लाभ लिन सकुन् भन्नेमा हाम्रो प्रयास जारी छ ।’ तेस्रो लिंगीको अधिकारका लागि काम गर्दै आएकी विद्या राजपुतका अनुसार प्रहरीमा भर्ना हुनका लागि ४० भन्दा बढी तेस्रो लिंगीले आवेदन दिएका छन् ।
बिलासपुर निवासी तेस्रो लिंगी समुदायकी पूर्णिमा भन्छिन्, ‘अहिलेसम्म हाम्रो पहिचान भनेको रेलमा गएर भिख माग्ने, घर–घरमा गएर बधाई गीत गाउने मै सीमित थियो, अब भने हामी जनताको सुरक्षाका लागि पनि काम गर्न पाउने भयौं ।’ नक्सलवादी प्रभावित क्षेत्र बस्तर निवासी बिजलीलाई अहिलेसम्म छिमेकीले पुरुषका रुपमा चिन्दछन् । उनले राज्यस्तरका खेल प्रतियोगितामा पुरुषकै रुपमा सहभागी भइ कयौं पदक जितेकी छन् । उनी भन्छिन्, ‘म तेस्रो लिंगी हुँ, तर यो कुरा मैले आजसम्म सार्वजनिक गरेको छैन । लोक–लाजले आफ्नो पहिचान लुकाएको हो ।’ तर प्रहरीमा भर्ना भइसकेपछि भने आफू खुलेर समाजमा आउने र आफ्नो जीवन बाँच्ने उनको भनाइ छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु