तस्कर र प्रहरीबीच मिलेमतो !

२०७६ कार्तिक ११ गते, सोमबार

काठमाडौँ , ११ कार्तिक । प्रहरीले चासो नदिँदा तस्करी मौलाउँदै गएको छ । रुपन्देहीका विभिन्न नाकाको प्रयोग गर्दै अहिले तस्कर र प्रहरीकै सेटिङ्गमा दोहोरो रुपमा तस्करी बढ्दै गएको स्थानियहरुको आरोप छ । नेपालबाट अवैध रुपमा मटर, छोहरा, मरिच, दाललगायतका सामग्री भारततर्फ पुर्‍याउने गरिएको छ भने भारतबाट कपडा, हार्डयेयरका सामान, कुखुरा,चल्ला, खाद्यन्नलगायतका सामाग्री अवैध रुपमा ल्याइने गरिएको छ । सीमामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटहरुलाई मासिक नजराना “लाइन” बुझाएर काम गरिरहेको तस्करहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्री भने बाहिर गरिएजस्तो अवैध कारोबार नभएको र प्रहरी तस्करी नियन्त्रणमा रहेको दावी गर्छन । समाचार संकलनको क्रममा सीमामा पुग्दा रोहिणी ३ लखनउतियामा रहेको न्यू सन्दिप सप्लायर्स नामको पसलबाट मटर अवैध रुपमा भारततर्फ लैजाँदै गरेको देखिएको थियो ।
यस बिषयमा न्यू सन्दिप सप्लायर्सका संचालक अनिल यादवले आफुले मटर बिक्री गरेको तर त्यो भारत अथवा नेपाल लैजाने आफ्नो सरोकारको बिषय नरहेको प्रतिक्रिया दिए । सीमामा रहेका यस्ता वैध रुपमा दर्ता भएका पसलहरुले अवैध कारोबार गर्दा पनि प्रहरी मुकदर्शक भएर बस्नुले पनि प्रहरी र यी कारोबारीहरुको संलग्नता पुष्टि गर्दछ । रुपन्देहीका सीमा नाका बुची बरवा, मदरी, अमवा, मैनिहवा, सेमरपानी, केवटलिया, पिपरहिया, कदमहवा, बगौली, ठर्कि, करौता, पिपरहवा, कालीदह लगायतका नाकाबाट तस्करी हुने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु