डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द

२०७६ असार २७ गते, शुक्रबार

काठमाडौं, २७ असार ।डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो ।
असार १२ गते नागरिक समाज डडेल्धुराको सर्वपक्षीय बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्के पनि पुनः बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिए । वडाध्यक्ष खड्काले शव परीक्षण नगरी लगेको अपस्पतालले जनाएको छ ।
आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका थिए ।
प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो ।
चिकित्सकहरूले ११ः३५ तिर शव परीक्षण शुरु गरेका थिए । वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चिकित्सकमाथि आक्रमण हुदाँ डा दिनेश उपाध्यलाई घुँडामा चोट लागेर घाइते भएपछि आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्किने डडेल्धुरा अस्पतालका निमित्त प्रमुख मेसु डा जितेन्द्र कँडेलले बताए । पटक–पटक चिकित्सकमाथि आक्रमण भइरहेकाले राज्यले सुरक्षाको प्रत्याभूति नगरेसम्म नियमित सेवामा नफर्किने कँडेलले बताए । घटनाको नेपाल चिकित्सक सङ्घले पनि विरोध गरेको छ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु