ट्राफिक जरीवाना दोब्बर !

२०७५ जेष्ठ २४ गते, बिहीबार

काठमाडौं, २४ जेठ । ट्राफिक प्रहरीले नियमको उल्लंघन गर्ने सवारी साधन र सवारी चालकमाथि निगरानी बढाएको छ । सिट संख्याभन्दा बढि यात्रु राख्ने, सवारी साधनमा धूमपान गर्ने, नियम उल्लंघन गर्नेमाथि जरिवाना पनि थप गरेको छ । यातायात क्षेत्रमा व्याप्त सिण्डिकेट तोडेर चर्चामा आएको सरकारले यातायात क्षेत्रमा अनुशासनहिनता र ट्राफिक नियमको उल्लंघन गर्ने प्रबृत्ति विरुद्ध अर्को अभियान थालेको हो । अभियानको थालनी राजधानी काठमाडौंबाटै गरिएको छ र पहिलो निगरानीमा परेका छन् सीटभन्दा बढी यात्रु चढाउने सार्वजनिक सवारी साधन, यस क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुगमन कडा पार्दै सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारवाही गर्न थालेको छ । यातायात व्यवस्था विभागले दिएको अधिकार अनुसार यसअघि बढी यात्रु राख्नेलाई गर्दै आएको ५ सयको जरिवानालाई दोब्बर गरिएको प्रहरीको जनाएको छ ।
महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ भने ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना गरिने छ । ट्राफिक प्रहरीले ट्याक्सीभित्र अनिवार्य रुपमा नं.प्लेट राख्नुपर्ने नयाँ व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । अब ट्याक्सीहरुले यहि जेष्ठ २५ गते भित्र ३ इन्च चौडाई र ९ इन्च लम्बाई साइजको नं.प्लेट ट्याक्सीको भित्र यात्रुले देख्ने गरी अनिवार्यरुपमा राखिसक्नु पर्ने छ । यो व्यवस्था क्रमशः सवै सार्वजनिक सवारीमा लागु गर्ने योजना छ । सवारी साधनको पार्किङस्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथकिताका साथ बढाएको छ भने समग्र ट्राफिक ऐनको कार्यान्वयनमा पनि कडाइ गरिएको छ ।
यस क्रममा ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेष्ठ महिनाको २१ गतेसम्मको नियम अनुशासन उलंघनमा पुरुष ३६ हजार ८ सय ९१ जना र महिला १९ सय २३ गरी जम्मा ३८ हजार ८ सय १४ जना रहेका छन् । मिटरमा जान नमान्ने र बढी भाडा लिने तथा मिटर विगार्नेमा ६ हजार ९ सय ५ जना ट्याक्सी चालक, हर्न बजाउन निषेधित ठाउँमा हर्न बजाउने २३ हजार ५ सय ८० जना रहेका छन् । सिट क्षमता बढी यात्रु बोक्ने माइक्रो ९ सय ८९ र तिन पाग्रे टेम्पोका २ सय ३६ गरि १ हजार २ सय २५ जना सवारी चालकलाई कारवाही गरिसकेको र कारवाही वापतको जरिवानाबाट सवै गरी जम्मा १४ करोड ९१ लाख ९ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । बस स्टपमा ‘पिक एण्ड ड्रप’ मात्रै गर्न दिने व्यवस्था गर्ने, यात्रुलाई लाइनमा बसेर गाडी चढ्न लगाउने र सवारीहरुलाई लेन अनुशासन मान्न बाध्य बनाउने गरी कडाई गर्ने पनि जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु