ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा पहिलो सार्वजनिक सुनुवाइ आगामी हप्ता

काठमाडौं , २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ । अमेरिकी कंग्रेसको डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउन खोज्ने अनुसन्धानमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइको घोषणा गरेको हो । यसका लागि तीनजना राज्य विभाग अधिकारीहरु पहिलो साक्षीका रुपमा उपस्थित हुने छन् । हालसम्म तीनवटा मुख्य समितिकाका सदस्यहरुले उनीहरुको बयान सुनिसकेका छन् ।
महाअभियोग छानविन केन्द्रले राष्ट्रपति ट्रम्पले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडेनविरुद्ध छानविन गर्न दबाव दिएको आरोप लगाउँदै आएको छ ।
राष्ट्रपति ट्रम्पले भने शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै आएका छन् । अमेरिकी कंग्रेसले गठन गरेको छानविन समितिका सभापति एडम शिफले संचारकर्मीहरुसँग कुरा गर्दै ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव बलियो बन्दै गएको दाबी गरेका छन् ।
उनले विगत एक बर्षमा राष्ट्रपति ट्रम्पले खराव उद्देश्य पुरा गर्न राजनीतिक प्रतिस्पर्धीविरुद्ध चालेका कदमको बारेमा खोजविन गरिरहेको बताए । यसका लागि को–को सरकारी अधिकारीहरु प्रयोग भएका थिए भन्नेबारे पनि जाँच गरिरहेको उनको भनाइ थियो । क्यापिटल हिलमा गरिने सुनुवाइको प्रत्यक्ष प्रशारण हुने छ । जहाँ डेमोक्रेट र रिपब्लिकन सांसदहरुले साक्षी भनिएकाहरुलाई प्रश्न गर्ने छन् । सार्वजनिक सुनुवाईमा युक्रेनका लागि अमेरिकी बहालवाला राजदूत, पूर्व राजदूत र विदेशमन्त्रालयमा कार्यरत एक अधिकारीलाई बोलाइएको छ । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>