ट्रम्पद्वारा टर्कीसँगको वार्ता रोक्ने चेतावनी

२०७६ आश्विन २८ गते, मंगलवार

काठमाडौं , २८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिएका छन् । टर्कीले उत्तरी सिरियामा सैन्य कारवाही जारी राखेको भन्दै राष्ट्रपति ट्रम्पले उसका अधिकारीहरुविरुद्ध प्रतिवन्ध लगाउनेसमेत बताएका छन् । राष्ट्रपति ट्रम्पले टर्कीका सरकारी अधिकारी, निकावय वा सहयोगीमाथि प्रतिवन्ध लगाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेइले जारी गरेको विज्ञप्ती अनुसार टर्कीका रक्षामन्त्री हुलुसी आकर, गृहमन्त्री सुलेमान सोयलु र उर्जा मन्त्री फाती डोन्मेजलाई अमेरिकी विभागको निषेधाधिकार ब्ल्याकलिष्टमा राखिएको छ । अमेरिकामा रहेको उनीहरुको सम्पति जफत गरिएको छ भने अमेरिकी नागरिक वा संस्थासँग भएको लेनदेनमाथि पनि प्रतिवन्ध लगाइएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा टर्कीले कुर्दविरुद्ध फौजी कारवाही सुरु गरेर आफ्नै मुलुकको अर्थतन्त्र तहसनहस पार्न लागिपरेको टिप्पणीसमेत गरेका छन् । अमेरिकाले उक्त क्षत्रेबाट सेना फिर्ता बोलाएपछि बुधबार टर्कीले कुर्द लडाकूमाथि उत्तरी सिरियामा आक्रमण सुरु गरेको हो । टर्कीको उक्त कदमको अमेरिकालगायत विभिन्न देशहरुले विरोध गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु