ट्रम्पका सल्लाहकारद्वारा झुटो बोलेको स्वीकार

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानविन निकाय ‘एफबीआइ’सँग झुटो बोलेको स्वीकार गरेका छन् । वासिंटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् । वासिंटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ‘झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण’ अभिव्यक्ति दिएको स्वीकार गरे । अदालतमा बयान दिएपछि जारी गरेको एउटा वक्तव्यमा फ्लिनले आफुले पहिला गरेको काम गलत थियो भन्ने कुरा अदालतमा स्वीकार गर्दै अब गल्ति सच्याउने प्रण गरे ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार फ्लिनले ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित राष्ट्रपतिका संक्रमणकालीन समूहका वरिष्ठ सदस्यहरुले रुसीहरुसँग सम्पर्क गर्न निर्देशन दिएको भन्ने बयान दिने तयारी गरेका छन् । फ्लिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपबारेको अनुसन्धानमा आफूले सघाउने बताएका थिए ।
ह्वाइट हाउसले फ्लिनले अरु कसैलाई नभई आफैँलाई फसाएका जनाएको छ । ट्रम्पको चुनावी अभियान र मस्कोबीच भएको भनिएको साँठगाँठलाई लिएर छानविनमा परेका फ्लिन ट्रम्प प्रशासनका पहिलो पूर्व वरिष्ठ सदस्य हुन् ।
गत फेब्रुअरीमा ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपति डोनल्ड ट्रम्प फ्लिनले रुसी अधिकारीसँग गरेको टेलिफोन वार्ताका कुरा लुकाएकोबारे जानकार रहेको बताएका थिए । उनले कानून उल्लंघन गरेको कारणले नभई विश्वास गुमाएका कारण राष्ट्रपतिले फ्लिनको राजीनामा मागेको बताएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु