‘झुठ र अपराधमा संलग्नहरूको हिसाबकिताब उचित समयमा हुन्छ’

काठमाडौँ, १ असार । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी आन्दोलनकाविरुद्ध झूठ र अपराधमा संलग्नहरूको हिसाबकिताब उचित समयमा हुने चेतावनी दिएको छ । नियोजित रुपमा पार्टी र नेतृत्वबारे झुठा र भ्रामक समाचारहरु प्रकाशन, प्रसारण हुन थालेपछि ने.क.पा.ले त्यस्ता कार्यमा संलग्नहरू जनताको निगरानी र हिसाबकिताबभन्दा बाहिर नरहेको बताएको हो । ने.क.पा.का पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’को पार्टी मुखपत्रमा प्रकाशित लेखमा पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीपछि कान्तिपुरलगायतका केही राष्ट्रिय सन्चारमाध्यमले नियोजित रुपमा भ्रमपूर्ण समाचारहरु प्रकाशन गरिरहेको भन्दै त्यस्तो भ्रममा नपर्न सबै नेता, कार्यकर्ता र सचेत नागरिकलाई आग्रह समेत गरेका छन । पोलिटब्युरो सदस्य विरहीले लोलोपोतो, अवसरवाद धेरै नटिक्ने ठोकुवा गरेका छन् । उनले भनेका छन्– ‘आफ्नो व्यक्तिगत प्रतिष्ठा मात्र ख्याल गर्नेले हुल्लडबाजहरूको लहैलहैमा आपूmलाई बर्बाद गर्नुहुँदैन । अवसरवाद जतिसुकै लुकाउन खोजे पनि लुक्दैन । त्यसको कुनै भविष्य पनि हुँदैन ।’
गृहमन्त्रालयको भत्ता थापेर भाडाको कलम चलाउने चलन नेपालमा पञ्चायतीकालमा झाङ्गिएको भन्दै उनले सामाजिक दलाल सरकार बनेपछि त्यसलाई अझ तीव्र पारिएको बताए । यसैकारण गत भदौमा प्रकाण्ड गिरफ्तार हुनासाथ घुसपैठिया, शङ्कास्पद र कारबाहीमा परेका व्यक्तिहरू र संवाददाताहरूको दारूपाटी चलाउने र भाडामा लेख्ने–लेखाउने क्रम तीव्र भएको पनि पीवीएम विरहीले प्रस्ट्याएका छन् ।
बिरहीले पार्टी प्रवत्ताको भूमिकाको विषयलाई लिएर कारवाही गरिएको भन्ने कान्तिपुर दैनिकको समाचारलाई नेकपा स्थायी समितिले नाङ्गो झूट, नियोजित षड्यन्त्र र क्रान्तिकारी शक्तिका विरुद्ध अपराधकर्म भएको जनाउँदै परिपत्र नै गरेको बताए । प्रवक्ताको गिरफ्तारपछि तिव्र रुपमा प्रतिक्रियावादीहरूले अनेकौँ रङ्गीविरङ्गी विषालु प्रचारसमेत गरेर पार्टीभित्र र बाहिर भ्रम पार्ने खेलसमेत खेले । उनले भनेक छन्– ‘नेकपाका केन्द्रीय सदस्यहरूलाईसमेत पार्टी स्थायी समितिसँग पहुँच सहज छैन भने काठमाडौँको गल्ली र गृह मन्त्रालयका ढोका चहार्ने कथित बिग हाउसका फन्टुसहरूले त्यसप्रकारको दाबी गर्नु कति हास्यास्पद छ, सहजै बुझ्न सकिन्छ ।”
पछिल्लो समय कारवाही परेर पनि पार्टीको नाम बेचेर आर्थिक धन्दामा लाग्ने तथा पार्टी र नेतृत्वमाथि गम्भिर प्रहार गर्ने कार्य जारी रहेपछि पटक पटक नेकपाले सचेत समेत गराउर्दै आएको छ । नेकपा गुटहरूको संयुक्त मोर्चा नभएको स्पष्ट पार्दै नेता विरहीले पार्टीभित्र महासचिव विप्लवले नै सबै कुराको अन्तिम निर्णय गर्ने बताएका छन् । नेता विरहीले पार्टीको जनवर्गिय संगठनहरुमा कारबाहीमा परेकाहरू मूलतः पत्रकार सङ्गठन र स्वास्थ्यमा रहेको र त्यसमा पनि घुसपैठिया र शङ्कास्पद व्यक्तिहरू, गृहमन्त्रालयबाट रकम बुझ्नेहरू र अराजक र हुलमुलमा फसेकाहरूलाई मात्रै कारवाही गरेको बताएका छन् । अनुशासनमा नबस्ने र भावनामा भड्किएका तर इमानदार कमरेडहरूलाई रूपान्तरण गरेर काममा फर्काउने प्रयास पनि पार्टीले गरिरहेको छ । बिरहीले लेखमार्फत वैद्य नेतृत्वको नेकपा–माओवादीको ताम्सालिङ अधिवेशन, धुलिखेलमा चल्दै गर्दा राती १२ बजे सूर्य सुवेदी ‘पथिक’ले शङ्कास्पद भन्दै होटेलबाट लखेटेका र शक्ति बस्नेतबाट पैसा खाएर पार्टी र क्रान्तिका बिरुद्ध प्रचारमा उत्रिएको पनि उल्लेख गरेका छन् ।
यस बिषयमा पार्टीको मुखपत्रमा ‘कान्तिपुरको पीत–पत्रकारिता’ शीर्षकमा नेता बिरहीले लेखेको लेख यस्तो छ– “गृहमन्त्रालयको भत्ता थापेर भाडाको कलम चलाउने चलन नेपालमा पञ्चायतीकालमा झाङ्गिएको हो । त्यो चलन अहिले पनि चलिरहेकै छ । सामाजिक दलाल सरकार बनेपछि त्यसलाई अझ तीव्र पारिएको छ । गत भदौमा प्रकाण्ड गिरफ्तार हुनासाथ घुसपैठिया, शङ्कास्पद र कारबाहीमा परेका व्यक्तिहरू र संवाददाताहरूको दारूपाटी चलाउने र भाडामा लेख्ने–लेखाउने क्रम तीव्र भएको छ । कान्तिपुर दैनिकको पटकपटकको समाचार विश्लेषणमा भूमिकाको विषयलाई लिएर कारबाही गरेको बताइएको छ । त्यो यस्तो नाङ्गो झूट, नियोजित षड्यन्त्र र क्रान्तिकारी शक्तिका विरुद्ध अपराधकर्म हो कि सो दाबीलाई नेकपा स्थायी समितिद्वारा २०७५ कात्तिक १८ मा जारी परिपत्र बुँदा नं. २ मा भनिएको छ । ‘‘दमनका विरुद्ध पार्टीले गरेको सङ्घर्ष, कमरेड प्रवक्ताको नेतृत्वमा बन्दी कमरेडहरूले हिरासतभित्र गरेको सङ्घर्ष र नेपाली जनताको समर्थनले यो लडाइँमा सामाजिक फासिवादको हार र हाम्रो पार्टीको जित भयो । ‘स्थायी समिति बैठकमा महासचिव कमरेड विप्लवले रिहाहुनुभएका कमरेड प्रकाण्डलाई बैठकमा स्वागत गर्न प्रस्ताव गर्नुभयो र बैठकले मुठ्ठी उठाएर स्वागत ग¥यो ।’ त्यसकारण भएको होइन कि उनीहरूले त्यस्तो अपेक्षा गर्छन् । उनीहरूको हर्कतलाई अर्थात् प्रचारयुद्ध र फौजी युद्धलाई आठौँ पूर्ण बैठक (२०७५ साउन)मा पारित राजनीतिक प्रस्तावको पृष्ठ १ मा भनिएको छ, ‘गिरफ्तारपछि प्रतिक्रियावादीहरूले अनेकौँ रङ्गीविरङ्गी विषालु प्रचारसमेत गरेर पार्टीभित्र र बाहिर भ्रम पार्ने खेलसमेत खेले ।’ प्रवक्ता गिरफ्तार हुनासाथ त्यसलाई तीव्र पारियो । विषम राजनीतिक परिस्थिति र केही टार्नै नसकिने व्यस्तताकाकारण केही दिन प्रवक्ताको नामबाट विज्ञप्ति नआउँदासाथ ‘मनको लड्डु घ्यूसँग’ खान थालियो– प्रकाण्ड कारबाहीमा । त्यो त नेकपामा विषयअनुसार महासचिव, प्रवक्ता, कार्यालय सचिव अथवा सङ्गठन प्रमुखले आपसी सरसल्लाहमा विज्ञप्ति दिने चलन छ । प्रवक्ताको विज्ञप्ति देख्नासाथ अर्को कथा सुरु गरे–प्रकाण्डको पुनरागमन । कतिपय संवाददाताहरूले आफ्नो समाचारको स्रोत नेकपाको स्थायी समिति बताउँदै हिँडेका छन् । नेकपाका केन्द्रीय सदस्यहरूलाईसमेत पार्टी स्थायी समितिसँग पहुँच सहज छैन भने काठमाडौँको गल्ली र गृह मन्त्रालयका ढोका चहार्ने कथित बिग हाउसका फन्टुसहरूले त्यसप्रकारको दाबी गर्नु कति हास्यास्पद छ, सहजै बुझ्न सकिन्छ ।
नेकपा गुटहरूको संयुक्त मोर्चा होइन । महासचिव विप्लवले नै सबै कुराको अन्तिम निर्णय गर्छन् । कारबाहीमा परेकाहरू मूलतः पत्रकार सङ्गठन र स्वास्थ्यमा हो । उनीहरू तीन प्रकारका थिए–
(क) घुसपैठिया र शङ्कास्पद व्यक्तिहरू
(ख) गृहमन्त्रालयबाट रकम बुझ्नेहरू
(ग) अराजक र हुलमुलमा फसेकाहरू
अनुशासनमा नबस्ने र भावनामा भड्किएका तर इमानदार कमरेडहरूलाई रूपान्तरण गरेर काममा फर्काउने प्रयास भइरहेको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीको ताम्सालिङ अधिवेशन, धुलिखेलमा चल्दै गर्दा राती १२ बजे सूर्य सुवेदी ‘पथिक’ले शङ्कास्पद भन्दै होटेलबाट लखेटेका र शक्ति बस्नेतबाट पैसा खाएर क्रान्तिकारी आन्दोलनकाविरुद्ध झूठ र अपराधमा संलग्नहरूको हिसाबकिताब समयमा फैसला हुन्छ नै । सबै नेता, कार्यकर्ता र इमानदार पङ्क्ति स्पष्ट हुनुपर्दछ । लोलोपोतो, अवसरवाद धेरै टिक्दैन । ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’ नामको आफ्नो चर्चित रचनामा लेनिन भन्नुहुन्छ, ‘तिमी कोसँग सङ्गत गर्दछौँ भनअनि तिमी को रहेछौ भन्ने कुरा म तिमीलाई बताउँला । तिम्रापक्षमा कसले मत प्रदान गर्दछ भन, अनि तिम्रो राजनीतिक अनुहार कस्तो रहेछ भन्ने कुरा म तिमीलाई बताउँला ।’ त्यसकारण आफ्नो व्यक्तिगत प्रतिष्ठामात्र ख्याल गर्नेले हुल्लडबाजहरूको लहैलहैमा आपूmलाई बर्बाद गर्नुहुँदैन । अवसरवाद जतिसुकै लुकाउन खोजे पनि लुक्दैन । त्यसको कुनै भविष्य पनि हुँदैन । अवसरवादको सन्दर्भमा लेनिन भन्नुहुन्छ, ‘अवसरवादी व्यक्तिको स्वभाव नै कस्तो हुन्छ भने यसले कुनै पनि प्रश्नलाई कहिल्यै निश्चित तथा ठाडो रूपले प्रस्तुत गर्न खोज्दैन । उसले सधैँ कुनै बीचको बाटो भेट्टाउने दाउ खोजेर बसेको हुन्छ । दुई परस्पर विरोधी दृष्टिकोणहरूकाबीचमा सर्पजस्तो सल्बलाइरहेको हुन्छ र दुवै दृष्टिकोणसित ‘सहमत हुने’ प्रयास गर्दछ । सुन्दरता र कुरूपता, सत्य र असत्यका बीचको सङ्घर्षमा बीचको कुनै बाटो हुँदैन ।
दलाल सत्ताका मतियारहरूले पदम राईलाई बोकेर लड्न खोजेका छन् । तर भुत्ते हतियार बोकेर लडाइँ जितिन्न । सतीदेवीको लास बोकेर हिँड्ने पागल महादेवको हालत कान्तिपुर दैनिकको हुनु दुःखद् विषय हो । पदम राई कुुनै रहस्यमय कथाले होइन, उनी पार्टीको घोषित र आधारभूत नीतिविरुद्ध सार्वजनिक रूपमा गएपछि सार्वजनिक रूपमा नै कारबाहीमा परेका हुन् । उनी गत माघदेखि जिम्मेवारीमा थिएनन् । सरकारले पार्टीलाई प्रतिबन्ध लगाएपछि गृहसचिवसँग सम्पर्कमा बस्ने र पार्टीकाविरुद्ध बोल्न थालेपछि कारबाहीमा परेका हुन् । कमरेड प्रकाण्ड र वार्ताको चर्चासँग उनको कुनै साइनो छैन । कान्तिपुरको दलाल चस्माले हेर्दा पदम राई इमानदार होलान्, सर्वहारा तथा क्रान्तिकारी चस्माले हेर्दा उनी कायर, लोभीपापी तथा स्वाभिमान नभएका लास हुन् । ‘सर्पको बच्चामा विष र मान्छेको बच्चामा इख’ भएनभने मरेतुल्य हुन्छ भन्छन् । जसकाबारेमा पार्टीले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । नेकपाका विषयमा कान्तिपुरमा आएका समाचारहरू गृहमन्त्रालय र भगौडा तथा घुसपैठियाहरूले बनाएको र कान्तिपुरको अमूक व्यक्तिकानाममा प्रकाशित गरेको सहजै बुझिन्छ । किनकि पत्रकारको भाषा, शैली र गुप्तचरको भाषा, शैली आधारभूत रूपमा नै फरक हुन्छ। भाकपा (माओवादी) विरुद्ध खनिनु, पैसा खाएर फेक न्युज प्रसारण गर्नु र सनसनीपूर्ण समाचार बेचेर खर्चपर्च धान्नु भारतीय सञ्चारको मूल प्रवृत्ति देखिन्छ । कान्तिपुर दैनिक त्यही धन्दामा छ किनकि दलाल सरकार र दिल्लीको चाकरी नगरी उसले नजराना र विज्ञापनरूपी तलब पाउँदैन । नेकपाले अरुण–३, विराटनगरस्थित भारतीय शिविर र माथिल्लो कर्णालीमा प्रहार गरेपछि कान्तिपुर दैनिक अझ बढी नेकपाकाविरुद्ध खनिएको छ । सिंहदरबार र दिल्ली दरबारका कारिन्दाहरूआफ्नो समाचारको पुष्टि गर्न आवश्यक ठान्दैनन् । तर यी नौरङ्गी दलालहरू जनताको निगरानी र हिसाबकिताबभन्दा बाहिर छैनन् ।“

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>