ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

काठमाडौं, २३ जेठ । ग्वाटेमालामा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्म ७५ पुगेको छ । यस प्रकोपको कारण अझैपनि करिब २०० व्यक्ति बेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् । राजधानी सहरनजिकैको एक स्थानमा भएको सो ज्वालामुखी विस्फोट एक शताब्दीयताकै शक्तिशाली भएको पुष्टि गरिएको छ ।
उक्त स्थानमा यस वर्षमात्र दुईपटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् । मंगलबार र बुधबार बिहान केही थप शव फेलापरेपछि सो संख्या ७५ पुगेको र अझै ठूलो संख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ । ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौंको संख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।
उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएका कैयौं व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन् । विस्फोटमा करिब १०० भन्दा बढी घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ । आइतबार राति भएको सो प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ । सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन् । उनीहरुको सहयोगमा ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ । ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्नेक्रम बुधबारसम्म पनि रोकिएको छैन । यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन् । -रासस/एएफपी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>