जोहार – बलराम तिमल्सिना

२०७६ कार्तिक ११ गते, सोमबार

खोतलेर
हजारौं वर्षका पुराना
पुरातात्विक चिहानहरू
निकालेर हस्तिहाड
पूर्खाका तीर-धनुष
ती पनि निकालेर चिहानबाट
मुण्डा, झाँगड
कोच , उराव
वोडो, खासी
भील,संथाल
असुर, राक्षस
दस्यु, दानव
फेरि व्युँझदै छ
जोहार व्युँझदै छ !

जन्मभूमिको माटोको
मगमग सुगन्धबाट
नद-नदीको चपल चञ्चल
कलकल सङ्गितबाट
हावाको सरसराहट
कोयलीको कुहुकुहु
झार जङ्गलजस्तै बनाइएका
आदिवासी सुस्केराबाट
मान्छे फेरि व्युँझदै छ
जोहार व्युँझदै छ !

लेख्दै नलेखिएको इतिहासको
प्राग ऐतिहासिक प्रमाणहरूबाट
लेखिएर पुरिएका इतिहासको
सामुहिक समाधिस्थलबाट
उम्लिदै छ लाभा बनेर
खरानीमुनिको आगो
सन्नाटाले छोपिएको
हुरी फेरि चल्न सुरु गरेको छ
माटोको कण कणबाट
जन जनबाट मनमनबाट
उद्गार फेरि निस्कदै छ
जोहार जन्मदै छ !

उनेर आदिवासी अनुहारहरू
एउटै जोहारको धागोमा
जलाएर इतिहासका जन्जिरहरू
त्यही जोहारको आगोमा
जल जङ्गल र जमीनको
गर्दै प्रेम र उपासना
मुक्ति र स्वतन्त्रताको
देख्दै इन्द्रधनुषी सपना
उत्पीडितका मनमनबाट
रगतका कणकणबाट
रक्त रन्जित परचमबाट
प्रणबाट, धडकनबाट
नयाँ उद्वोधन जन्मदै छ
समवेत स्वरमा मुक्त कण्ठले
जोहार जन्मदै छ !

विस्मृत भैसकेका स्मृतिबाट
प्रितिबाट, कृतिबाट
प्रकृतिबाट , संस्कृतिबाट
दुखाई , पोलाई र क्रन्दनबाट
जिन्दगीको रनवनबाट
समयले कोल्टे फेर्दै छ
आदिबासी अनुहारबाट
क्रमश: अँध्यारो अन्मदै छ
नव जागृतिको, स्वआकृतिको
जोहार जन्मदै छ !

प्रतिक्रियाहरु