जीवनको सुन्दरता ! – कौशिला रिसाल

मसँग पनि
अलिकति मुस्कान छ,
अलिकति सुन्दरता छ
मैले बुझेको सुन्दरता
मेरो पसिनाको सृजनामा छ
माटोको आयाममा छ
ढुङ्गाको आयाममा छ
गिट्टीको आकारमा छ
फूल फुलेपछि होइन
म कोपिलामा खोज्छु
जीवनको सुन्दरता
मैले बुझेको छु
प्रत्येक फूल फुल्नुअघि
कोपिला लाग्नुपर्छ ।

सुदुर गाउँको भीर पाखामा
नदी किनारको तातो वालुवामा
शहरका गल्ली र कारखानामा
अरबको खाडीमा
मलेसियाका अपार्टमेन्टमा
कुवेत र इजरायलका घर घरमा
म श्रमको सृजना गर्छु
मेरो पसिना र श्रमको मूल्य
तोकिदेऊ न कवि दाइ
मेरो पनि कविता
लेखिदेऊ न कवि दाइ !

ठूला ठूला अर्धनग्न
रङ्गिन फोटा
मेहन्दी पोतिएका हात
पालिस रङ्गाएका
लामा नङ्का ठाउँमा
मेरो पसिनाका
दाना फुलेका अनुहार
ठेला उठेका हत्केला
मलाई अखबारको
पानाभरि हुने मन छ
चित्र कोरिदेऊ न
चित्रकार दाइ !

तिमीले खेलाउने चक र मार्करले
कालो ÷सेतो पाटिमा
लेखेका काला÷सेता अक्षरको
सुन्दर शब्दमा
शुन्दरताको परिभाषा सोध्नु छ
म तिम्रो शब्दको
कुन परिभाषाभित्र पर्छु
बताइदेऊ न
मास्टर दाइ !

मेरो मजबुरी छ
म पुलमुनि बसेर
मकै पोल्छु
तिमीले अलकत्राले पोतेको
कालो चिल्लो सडकमा
दबिएको मेरो पैतालाको
दुःखको छाप मेट्ने
इरेजर देऊ न
इन्जिनियर दाइ !

गोरो र कालो
हिस्सी पर्नु र नपर्नु
सरोकार राख्दिन म
म पसिनाको दानामा
मोती भेट्छु
हातका ठेलामा
जीवनको ज्योति देख्छु
म श्रममा सुन्दरता भेट्छु
मेरा यी सबै रहर
मेरो सरकारलाई सुनाउनुछ
म कुन दर्जाको नागरिकभित्र पर्छु
सोधिदेऊ न पत्रकार दाइ !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>