जापान उडान स्थगित !

२०७६ जेष्ठ २३ गते, बिहीबार

काठमाडौं, २३ जेठ । नेपाल वायुसेवा निगमले काठमाडौं-ओसाका उडान अनुमति पाए पनि उडान नै शुरु नगरी स्थगित गरेको छ । उडान स्थगित भएसँगै निगमकाे वाइडबडी एयरबस ३३० काठमाडौंबाट जापान नियमित उडान हुने आशा तत्काललाई क्षीण भएको छ । जापान उडानका लागि गत माघमा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी)पाएको थियो । जापानले नेपाल वायुसेवा निगमलाई सातामा तीन राउन्ड उडान गर्ने गरी ओसाकास्थित कान्साई विमानस्थलमा उडानको अनुमति दिएको थियो ।
निगमका प्रवक्ता नवराज कोइराला नजिकिँदै गरेको मनसुनका कारण जापानी पर्यटकहरुले नेपाल आउने चाहना नगर्नु र नेपालबाट जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थीको लागि पनि यो अफ सिजन भएको कारण बुकिङ सोचेअनुरुप नआएकाले उडान रद्द गर्नुपरेको बताउँछन् । यद्यपि नेपाली विद्यार्थीको आउने सेप्टेम्बरमा अर्को सिजन सुरु हुने भएकाले अगस्टको अन्तिमबाट उडान सुरु हुन सक्ने संकेत गरे । जापान उडानको अनुमति पाउन निगमले गरेको लामो प्रयास पहिलो गाँसमै ढुंगा साबित भएको छ । कमजोर ब्यवस्थापनका कारण त्यसै पनि धराशायी बनेको वायुसेवा निगमको यो असफलताले आशा गरेको थप नयाँ गन्तब्यमा उडान अनुमति पाउनेमा आशंका पलाएको छ ।

प्रतिक्रियाहरु