जापानमा नेपाली हाइकु सम्मेलन हुने

२०७५ आश्विन १२ गते, शुक्रबार

काठमाडौँ, १२ असोज । नेपाल हाइकु केन्द्र (नेहा ) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए ।
सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली कविलाई साथ दिने छन् । शिनओकुबोस्थित नेपाली मुरा कक्ष ( सोलमारी ) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेल माइलाले बताए । सम्मेलनका क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिने तथा पाँडे र पौडेलले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलनमा नेपालबाट पाँडे, अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल तथा बेलायतबाट कृष्ण बजगाईँको सहभागिता हुनेछ ।

प्रतिक्रियाहरु