जसले पाए योपटकको भौतिकशास्त्र र चिकित्साशास्त्रको नोबेल पुरस्कार

२०७६ आश्विन २२ गते, बुधबार

काठमाडौं, २२ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ । पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् । जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ–‘दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमन्डलबाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।’ अहिले वर्तमान सौर्यमन्डलबाहिर झन्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।
यसैगरी, सन् २०१९ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना अमेरिकी र एकजना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेवापत् उक्त पुरस्कार दिइएको हो । रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ । यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन् । सन् १९०१ यता यो पुरस्कार ११०औं टक प्रदान गर्न लागिएको हो । -रासस/एएफपी/एपी

प्रतिक्रियाहरु