जर्मनीमा रहेका नेपालीद्वारा भारतीय अतिक्रमणबिरुद्ध नेपाल सरकारलाई ज्ञापन पत्र

२०७६ मंसिर २७ गते, शुक्रबार

काठमाडौं ,२७ मंसिर । भारतीय हस्तक्षेपको तत्काल कडा प्रतिरोध गर्न माग गर्दै बर्लिनमा रहेको नेपाली दुताबासमार्फत नेपाल सरकारलाई एनआरएनए जर्मनी, नेपाली जनप्रगतिशील मोर्चा जर्मनी र प्रवासी नेपाली एकता मञ्च जर्मनीद्वारा संयुक्त रुपमा दवाव एवम् सुझाबका रुपमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र संगठनका प्रतिनिधिहरुको एक टोलीले बर्लिनस्थित नेपाली दूतावासमा राजदुत रमेशप्रसाद खनालमार्फत बुझाएका हुन् । ज्ञापन पत्रमा भारत सरकारद्वारा हालै जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली सार्वभौमिकतामाथि विस्तारवादी नाङ्गो प्रहार गरेको तर भारतको यस विस्तारवादी चरित्रका बिरुद्ध देशभित्र र बाहिरका सम्पूर्ण देशभक्त नेपाली जनता एक ढिक्का भएर जनस्तरमा स्वस्फुर्त प्रतिरोध हुँदा पनि नेपाल सरकारले भारतीय अतिक्रमण बिरुद्ध आवश्यक पहल गरेको प्रमाण नदेखिनु नेपाली जनताका निम्ति अनपेक्षित रहेको उल्लेख गरिएको छ । साथै नेपाल सरकार एउटा वक्तव्यमा मात्रै सिमित हुन नहुने जनाउदै नेपालको कूटनीतिक प्रयासलाई पनि भारतले बेवास्ता गरिरहेको अवस्थामा, यस मुद्दालाई आवश्यकता अनुसार अन्तर्राष्ट्रियकरण गर्न ढिलो गर्न नहुने सुझाब पनि समेटिएको छ ।पालमाथिको भारतीय अतिक्रमणको सम्बन्धमा नेपाली उच्च राजनीतिक तहबाट दोधारे अभिब्यक्ति आउनु मूलुकका निम्ति दुर्भाग्यपूर्ण हुनुका साथै कतै राज्यका महत्वपूर्ण अंगहरु भारतीय प्रभावमा परेका त छैनन् भन्ने आशङ्का पनि ब्यक्त गरिएको छ । यस बाहेक भारतीय अतिक्रमणको प्रतिरोधमा निस्किएका आम सर्वसाधारण जनतालाई गिरफ्तार, दमन र प्रतिबन्धित गरिनु खेदजनक रहेको बताउदै वर्तमान सरकारलाई भारतीय हस्तक्षेप सामू लाचार नबन्न आग्रह गरिएको छ । यससँगै नेपाल सरकारलाई भारत सरकारद्वारा हालै जारी गरिएको भारतीय राजनीतिक नक्सा पूर्ण रुपले खारेज गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको वास्तविक नेपाली नक्सा आधिकारीक रुपले प्रकाशित गर्दै अतिक्रमित नेपाली भूभागबाट तुरुन्त भारतीय सुरक्षाकर्मी हटाउन माग गरिएको छ । साथै नेपाली भूभाग भारतीय नियन्त्रणबाट फिर्ता लिन आवश्यक सबै प्रकारका पहल तत्काल सुरु गर्दै नेपाल र भारतबीच रहेका सम्पूर्ण असमान सन्धिहरुको खारेजीको पनि माग गरिएको छ ।

प्रतिक्रियाहरु