जनसत्ता र जनन्यायालयलाई सक्रिय बनाउने नेकपाको निर्णय

२०७६ कार्तिक १० गते, आईतवार

काठमाडौँ , १० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्यूरोले जनसत्ता र जनन्यायालयलाई सक्रिय बनाउने निर्णय लिएको छ । ब्युरोको तेस्रो पूर्ण बैठक सो निर्णय लिएको बताइएको छ । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणको अध्यक्षता र जनमुक्ति सेनाको सुरक्षामा बैठक बसेको थियो । इन्चार्ज निर्माणले प्रेसविज्ञप्तिमार्फत उक्त बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् । उनले सुदखोर, मिटरब्याजे, भूमाफिया, मानवतस्कर, लागूपदार्थ कारोबारी, विषादी, रक्सी बेचबिखन, कालोबजारिया, यौनव्यापार, धर्मव्यापार, भ्रष्ट, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमाथिको जनकारबाहीलाई अगाडि बढाउने निर्णय भएको जानकारी दिएका छन् । इन्चार्ज निर्माणको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी सेती–महाकाली ब्युरोको तेस्रो पूर्ण बैठक केन्द्रीय समिति सदस्य एवम् ब्युरो इन्चार्ज क. निर्माणको अध्यक्षतामा भर्खरै सम्पन्न भयो । जनताको न्यानो माया, सहयोग र जनमुक्ति सेनाको सुरक्षामा बसेको ऐतिहासिक बैठकले लिएका महत्वपूर्ण निर्णयहरू सार्वजनिक जानकारीका लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।’
नेता निमार्णद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार ब्युरोको निर्णय र ११ बुँदे कार्यक्रम यसप्रकार छ :
१. बैठकको प्रारम्भमा मानव जातिको मुक्ति एवम् वैज्ञानिक समाजवाद–साम्यवादका लागि सञ्चालित एकीकृत जनक्रान्तिमा जीवन बलिदान गर्नुहुने ११ जना महान् सहिदहरू, महान् नेपाली जनयुद्धलगायत विश्व क्रान्तिमा प्राण उत्सर्ग गर्नुहुने महान् ज्ञातअज्ञात सहिदहरूप्रति मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिका क्रममा बेपत्ता पारिएका र घाइते अपाङ्ग योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरियो ।
२. बैठकमा सम्पूर्ण ब्युरो सदस्यहरूद्धारा आआफ्नो कार्यक्षेत्र तथा विभागीय कामको रिपोर्ट पेस गरियो । रिपोर्टमा केपी वलीको सामाजिक दलाल सरकारको फासिवादी प्रतिबन्ध र दमनका बाबजुद पनि सेती–महाकालीमा वैकल्पिक शक्तिका रूपमा जनतामाझ पार्टी स्थापित हुँदै गएको, पार्टी र नेतृत्वप्रति जनताको आशा र विश्वास बढ्दै गएको, प्रतिरोध सङ्घर्षमा जनताको राम्रो सहयोग प्राप्त भएको, पूर्णकालीन कार्यकर्ता र जनमुक्ति सेनाको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको, ध्रुवीकरणको प्रक्रिया निरन्तर अगाडि बढेको, बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य बढ्दै गएको, पार्टी सुदृढ बन्दै गएको र पार्टीलाई थप सुदृढ र सङ्घर्षशील बनाउनुपर्ने निष्कर्ष रहेको थियो ।
३. बैठकमा के.स.को आठौँ पूर्ण बैठकले पारित गरेको ‘आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ’ शीर्षकको राजनीतिक प्रस्ताव र परिपत्र अध्ययन र छलफल गरियो जसलाई पार्टीका सम्पूर्ण निकायमा सम्प्रेषण गर्ने र त्यसलाई कडाइपूर्वक कार्यान्वयनमा लैजाने निर्णय गरियो ।
४. बैठकले सत्ताको सामाजिक दलाल फासिवादी चरित्र, पार्टीभित्र देखापरेको आत्मसमर्पणवाद, वर्गसमन्वयवाद र आत्मसुरक्षावाद, नेपालमा अन्तर्राष्ट्रिय क्षेत्रबाट हस्तक्षेपका रूपमा देखापरेको हिन्द–प्रशान्त रणनीति, भारतीय हिन्दुवाद, युरोपेली क्रिस्चियानीकरण र सङ्घीयता, देशभित्रको सामाजिक विकृति, विसङ्गति, भ्र्रष्टाचारलगायत विरुद्ध व्यापक भण्डाफोर तथा सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
५. केपी वलीको सामाजिक दलाल सरकारले हाम्रो पार्टीविरुद्ध अपनाएको भ्रम छर्ने र दबाब दिने, वार्ताको हल्ला गर्ने र दमन बढाउने, सर्वदलीय सहमति गरी फासिवादी दमनलाई बढाएर गृहयुद्धमा धकेल्ने र आर्थिक नाकाबन्दी गरेर घेराबन्दी गर्ने रणनीतिका विरुद्ध चौतर्फी रूपमा भण्डाफोर र जागरण व्यापक पार्ने, पार्टी चौतर्फी हुने र जनसम्बन्ध विस्तार गर्ने, सक्रिय रक्षामा रही सुदृढ भएर प्रतिरोध सङ्घर्षलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
६. बैठकले तत्कालीन सङ्घर्षका रूपमा सुदखोर, मिटरब्याजे, भूमाफिया, मानवतस्कर, लागूपदार्थ कारोबारी, विषादी रक्सी बेचबिखन, कालोबजारिया, यौनव्यापार, धर्मव्यापार, भ्रष्ट राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमाथिको जनकारबाहीलाई अगाडि बढाउने निर्णय गरेको छ । साथै हाम्रो पार्टीका विरुद्ध सीआईडी/सुराकी गर्ने, जेल/हिरासतमा रहेका हाम्रा कमरेडहरूमाथि कुटपिट र दुव्र्यवहार गर्ने सुरक्षाकर्मी, जेलर र नाइके–चौकीदारमाथि पनि कडा निगरानी र कारबाही गर्ने निर्णय गरेको छ ।
७. बैठकले अपर कर्णाली, एनसेल, कथित वैज्ञानिक वन, अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, जडीबुटी तस्कर, कब्जा जमिन बिक्री गरी खाने दलालहरूमाथिको कारबाहीलाई निरन्तर अगाडि बढाउने तथा निजी घरहरूमा राखेका एनसेल टावर र अफिसहरू हटाउन जनतालाई आह्वान गर्ने निर्णय गरेको छ ।
८.बैठकले पार्टीभित्र देखापरेको आत्मसुरक्षावाद, आत्मसमर्पणवाद, वर्गसमन्वयवाद, अर्थवादका विरुद्ध सङ्घर्ष गर्ने प्रतिबद्धतासहित केपी वलीको दलाल राज्यसामु आत्मसमर्पण गर्ने पार्टी र ज.व.स.का सम्पूर्ण सदस्यहरूलाई अनिश्चित कालका लागि निलम्बन गरेको छ ।
९. केपी वलीको सामाजिक दलाल सरकारले देश र जनतालाई दुःखी नेपाली र दरिद्र नेपालीमा बदल्दै लगेको तथा सामान्य न्याय र सेवाको पहुँचबाट समेत जनतालाई विमुख पार्दै गएकाले पार्टीको जनसत्ता र जनन्यायालयलाई सक्रिय बनाउने निर्णय गरेको छ । यसले भ्रष्टाचारी र जनविरोधीहरूमाथि निगरानी, नियन्त्रण र कारबाहीको दायरामा ल्याउन कैलाली र कञ्चनपुरमा थारुवान स्वायत्त जनसरकार र बाँकी पहाडी जिल्लाहरूमा सेती–महाकाली स्वायत्त जनसरकार क्रियाशील हुने निर्णय गरेको छ ।
१०. बैठकले किसानमारा खाद्यान्न माफिया र दलाल राज्यको मिलोमतोका कारण किसानहरूले समयमै धानको उचित मूल्य नपाइरहेको अवस्थामा यथाशीघ्र धानको उचित मूल्य र मलखाद उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
११. बैठकले केपी वलीको दलाल सरकारले चलाएको दमन, धरपकड र नरसंहारका विरुद्ध सबै जिल्लाहरूमा सभा, जुलुस, अन्तरक्रिया, विचारगोष्ठीलगायत कार्यक्रम गर्ने, पार्टी स्थापना दिवस, जनयुद्ध दिवस र सहिद सप्ताहलाई भव्य रूपमा मनाउने, सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग योद्धा, बन्दी परिवार, पुराना र पाका आदर्शवान् राजनीतिककर्मीहरूलाई सम्मान तथा अभिनन्दन गर्ने निर्णय गरेको छ ।
अन्त्यमा बैठकले आवश्यक साङ्गठनिक जिम्मेवारी हेरफेरसहित दलाल पुँजीवादी सत्ता र सामाजिक दलाल सरकारको चरम दमन र प्रतिबन्धका बीच पनि प्रतिरोध सङ्घर्षलाई निरन्तर अगाडि बढाउने नेता–कार्यकर्ता, सहयोग गर्ने जनता, समर्थक–शुभचिन्तक र मित्र शक्तिहरूप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गरेको छ ।

प्रतिक्रियाहरु