जनप्रगतिशिल मोर्चा कतारद्वारा साजन गुरुङलगायत् माथि कारबाही

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं , १० चैत । नेपाली जनप्रगतिशिल मोर्चा कतारले मोर्चाको नीति नियम विपरित कार्य गर्नेहरुलाई कार्वाही गरिएको जनाएको छ । मोर्चाले कार्वाही गरिएका ब्यक्तिहरुको नाम राखेर साजन गुरुङ लगायतले अलग्गै संगठन बनाएको भन्ने प्रचार गरेको भन्दै गुरुङ नेतृत्वको उक्त टिम आधिकारीक नभएको र उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको जनाएको छ । जनप्रगतिशिल मोर्चा कतारका केन्द्रीय अध्यक्ष जयकिशोर पोद्दारले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले कार्वाही गरेकाहरुले सिर्जना गरेको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
यस बिषयमा जनप्रगतिशिल मोर्चा कतारका केन्द्रीय अध्यक्ष जयकिशोर पोद्दारले जारी गरेको प्रेस विज्ञप्ति : ” नेपाली जनप्रगतिशील मोर्चा कतार आफैमा सक्षम तथा गौरवशाली संगठन हो भन्ने सर्वबिदितै छ । पछिल्लो समय पूर्वाग्रही तरिकाले नेतृत्व माथि प्रहार गर्दै छुट्टै जमात खडा गरि समानान्तर समितिको नाम दिएर मोर्चा माथी गरिएको प्रहारप्रती मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । एउटा प्रगतिशिल बिचार सहित आम मजदुरहरुको मन मस्तिष्कमा स्थापित भैसकेको संगठनलाई चारै तिरबाट प्रहार हुनु स्वभाविक हो । साथै मोर्चा माथी प्रहार सहित समानान्तर समिति भन्ने गैर जिम्मेवारी अभिव्यक्ती पनि त्यसैको एउटा कडि हो भन्ने यहाँहरु सबैमा अवगत गराउन चाहन्छौं । यो कुनै जिल्ला तथा जातिय वा क्षेत्रीय संगठन नभएको र यहाँ नीतिनियम बिपरित काम जो कोहीले गरे पनि छुट हुँदैन चाहे सदस्य होस वा नेतृत्व । यदि कसैलाई बिनाकारण निलम्बित गरिएको छ भने त्यँहा नेतृत्व पनि कार्वाहीको भागीदार हुन जान्छ । सहि व्यक्तिहरुले संगठनलाई अगाडि बढाउदै निरन्तरता दिन्छन् । तर समानान्तर समिति गठन गर्ने धम्किपुर्ण अभिव्यक्ति दिदैमा समानान्तर समिती गठन गरेर जान सकिन्छ भन्ने भ्रम कसैमा छ भने त्यो भ्रममा मात्र सिमित रहनेछ । मोर्चा तथा नेतृत्वहरुप्रति असन्तुष्ट भन्ने कुरा आएको छ त्यो कुनै असन्तुष्टी नभएर पुर्वाग्रह मात्र हो, नभए त्यस लिष्टमा रहनु भएका जिम्मेवार साथीहरूले मोर्चाको योजनालाई बहिस्कार गर्नुको सट्टा योजनालाई सफल बनाउएर असन्तुष्टीका बिषयहरु माथी छलफल गर्ने सोचमा जानू पर्ने हो तर त्यो बिपरित भएकोले मोर्चाका योजनालाई असफल बनाउन लागि परेको तर सम्भव नभए पछि यो धम्की पुर्ण कुरागरेको तपाईं हामीले सबैले सहाजै बुझ्न सक्छौ । यस लिष्टमा रहनु भएका केही असन्तुष्ट साथीहरूसँग छलफल गर्दै अगाडी बढ्नु पर्छ भन्ने उदेश्य सहित म आफैले पनि धेरै पटक सम्पर्क गर्ने कोसिस गरें । तर कसैले पनि छलफलमा सहभागी भएर स्पष्ट हुँदै लाग्नु पर्ने मनसाय देखाएनन । यसै लिष्टका व्यक्तिहरुलाई पनि सबैलाई भेला गराउने जिम्मेवारी दिइयो । उहाँले पनि १५ दिन सम्म कोसिस गर्दा पनि यो वा त्यो बहाना बनाउदै कोहि पनि छलफलमा आउने हिम्मत गर्नु भएन ।
हाल विश्व नै एउटा ठूलो प्रकोपको सिकार भैरहेको बेला बसेर छलफल गर्ने अबस्था छैन । हालको प्रकोप पछि तथा बैठक बस्न सक्ने अबस्था तयार भए पछि यी लिस्टमा रहनु भएका साथीहरू एक जनालाई पनि नछुटाई छलफलमा उपस्थित गराउन र हामी जो सँग छलफल गर्न चाहे उहीँ व्याक्ती उपस्थित भएर उहाहरुसँग बुदागत छलफल गर्न तयार छौ भन्ने पनि जानकारी गराएका थियौ । तर उहाँ छलफल मै सहभागी नहुने र बिरोध मात्र गरिरहने व्यबहारले आफै अरु राजनीतिक संगठनबाट परिचालित भएर संगठनलाई नै धरासायी बनाउन लागि परेको भन्ने बारे पछिल्लो उहाँहरुको गतिविधि ले झन स्पष्ट पारेकोछ ।
२१ मार्चको मितिमा साजन गुरुङले आफुलाई अध्यक्ष बनाएर निर्माण गरेको गुटमा नेतृत्व स्थानमा रहेका मध्य मोर्चाको गोपिनियता भंग गरेका, गोप्य बिषयहरुलाई बिरोधी संगठनका सदस्यसम्म पु¥याएका, सिंगो मोर्चालाई नै धरासायी बनाउने भुमिका खेलेका, व्यक्तिगत स्वार्थ पूरा गर्न मोर्चालाई प्रयोग गर्न खोजेका, मोर्चाका योजनाहरुलाई बिफल बनाउन प्रमुख भुमिका खेलेका, नेपालमा कार्वाहीमा परेका सदस्यहरुबाट संचालित भएका लगायतका गतिविधि गर्दै आएका कारण मोर्चाले कार्वाही गरिसकेको र केहीलाई त मेरो नाम यहाँ किन राखिएको हो भन्ने थाहा समेत नभएको तथा कति स्वदेश फर्किसकेका व्यक्तिहरुको नाम राखेर संख्यात्मक गुट निर्माण गरि सिङ्गो मोर्चासँग सम्झौता गर्ने सोचले अगाडी बढेको तर मोर्चाले सम्झौता हैन सहि र गलतलाई छुट्याएर मात्र अगाडी बढ्ने भने पछि यो रुवाबासी भएकोले नेपाली जनप्रगतिशिल मोर्चा कतारका पदाधिकारी, सदस्य, शुभ चिन्तकहरुमा तथा सम्पुर्ण संचारकर्मी साथिहरुलाई यस्ता कुनै पनि भ्रमको खेती गर्नेहरुको पछि नलाग्न अनुरोध गर्दै साजन गुरुङ नेतृत्वमा निर्मित गुटमा रहेका सम्पुर्ण सदस्यहरुलाई मोर्चाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको समेत जानकारी गराउदै यो प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ । “

प्रतिक्रियाहरु