जङ्गल फडानी गर्नेलाई कारबाही नगरिए जनकारबाही !

२०७७ बैशाख २९ गते, सोमबार

काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी कन्काई नगर समिति, झापाले पूर्व–पश्चिम राजमार्ग कन्काई नगरपालिका ७ गुर्दापुर बजारदेखि पश्चिममा रहेका मसलाका रूख अनुमतिबिना नै मेयरको प्रत्यक्ष संलग्नतामा काटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी इन्चार्ज प्रलातले प्रेस विज्ञप्ति जारी गर्दै रूख काट्ने कार्य तत्काल बन्द गरी कटानमा संलग्न व्यक्तिहरूलाई हदैसम्मको कारबाही नगरिए पार्टीले जनकारबाही गर्ने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोनाको महामारीसँग जुधिरहेको अवस्थामा जनप्रतिनिधिहरू जनताको सेवामा लाग्नुपर्ने बेलामा मेयरदेखि मन्त्रीसम्म कालोबजारी, भ्रष्टाचार, कमिसन र तस्करीमा जोडतोडले लागिरहेका छन् भने सरकार जनताको सेवामा लाग्ने हाम्रो पार्टीका कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिरहेको छ । यस्तो अनैतिक र अमानवीय कार्यको पार्टी घोर निन्दा गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा सडक विभागको जमिनभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग कन्काई नगरपालिका वडा नं. ७ गुर्दापुर बजारदेखि पश्चिममा रहेका मसलाका रूख अनुमतिबिना नै मेयरको प्रत्यक्ष संलग्नतामा काटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । बन्दाबन्दीको अवस्थामा जनताको सेवामा लाग्नुपर्ने बेलामा उल्टै मौज्दात ऐनकानुनको बेवास्ता गरी गैरकानुनी ढङ्गले रूख काट्ने कार्य अपराधजन्य कार्य हो । उक्त कार्य तुरुन्त बन्द गरी संलग्नलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई हाम्रो पार्टी सूचित गर्दछ । अन्यथा हाम्रो पार्टीले जनकारबाही गर्ने कुरा यसै विज्ञप्तिमार्फत अवगत गराउँछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु