चौरजहारी हत्याकाण्डका अपराधीलाई सरकारले कारवाही नगरे जनअदालतमा लगिने

२०७७ जेष्ठ १४ गते, बुधबार

काठमाडाैँ, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले चौरजहारी सोती हत्याकाण्डका अपराधीहरुलाई पत्ता लगाई कडा कारवाहीको दायरामा ल्याउन नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार एवं समाजसेवामा क्रियाशील संघ÷संगठन, बुद्धिजीवि र पत्रकारलगायत सबै क्षेत्रलाई जोडदार आह्वान गरेको छ । उसले चौरजहारी सोती हत्याकाण्डको तीव्रतामा निष्पक्ष छानबिन गरिएन र घटनालाई तोडमरोड गरी अपराधीलाई उन्मुक्ति दिने धृष्टता कुनै पनि पक्षबाट गरियो भने यो मुद्दा नेपाली श्रमजीवि जनताको जनअदालतमा प्रवेश गराउने चेतावनी समेत दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा आफ्नै राज्यव्यवस्थाको मूल्य र मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाउने गरी ३ जनाको ज्यान लिने र ३ जना बेपत्ता पार्ने गरी नियोजितरुपमा घटाइएको घटनाका योजनाकार, संलग्न व्यक्ति र घटनालाई तोडमरोड गर्ने संरक्षकहरुको आततायी, जङ्गली, सामन्ती, फासीवादी, श्रमजीवि र दलित समुदाय विरोधीतत्वहरुको कडा निन्दा र भत्र्सना गरिएको छ साथै क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा प्रवेश गरिराखेको नेपाल र नेपाली जनताको राष्ट्रिय एवं “अन्तर्राष्ट्रियस्तरमा शिर निहुराउने र बेइज्जती गर्ने जातीय छुवाछुत एवं भेदभावका ठेकेदार, अपराधी र मानवताविरोधी तत्वहरुको यथाशक्य पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न, बेपत्ताहरुको अवस्था छिट्टै सार्वजनिक गर्ने र मृतक एवं बेपत्ताका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग विशेष माग समेत गरिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ –\
अन्तरजातीय प्रेम एवं विवाहको विषयलाई लिएर यही जेठ १० गते बेलुकी पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा घटाइएको जघन्य हत्याकाण्डबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) जाजरकोट भेरीगङ्गा नगरपालिका वडा नं. ४ रानागाउँका महनलाल विश्वकर्माका छोरा वर्ष २१ का नवराज विश्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ का वीरबहादुर मल्लकी छोरी वर्ष २० कि सुष्मा मल्लबीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर चौरजहारी नगरपालिका ८ सोतीमा घटाइएको हत्या, बेपत्ता र कुटपिट काण्डप्रति पार्टीको ध्यान गम्भीररुपमा तानिएको छ । उक्त घटनामा मारिएका नवराज विश्वकर्मा, गणेश बुढामगर र टीकाराम सुनारप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । हालसम्म जाजरकोटका गोविन्द शाही, सन्दिप विश्वकर्मा र लोकेन्द्र सुनार बेपत्ता अवस्थामा छन् । आफ्नै राज्यव्यवस्थाको मूल्य र मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाउने गरी ३ जनाको ज्यान लिने र ३ जना बेपत्ता पार्ने गरी नियोजितरुपमा घटाइएको घटनाका योजनाकार, संलग्न व्यक्ति र घटनालाई तोडमरोड गर्ने संरक्षकहरुको आततायी, जङ्गली, सामन्ती, फासीवादी, श्रमजीवि र दलित समुदाय विरोधीतत्वहरुको हाम्रो पार्टी कडा निन्दा र भत्र्सना गर्दछ । क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा प्रवेश गरिराखेको नेपाल र नेपाली जनताको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा शिर निहुराउने र बेइज्जती गर्ने जातीय छुवाछुत एवं भेदभावका ठेकेदार, अपराधी र मानवताविरोधी तत्वहरुको यथाशक्य पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न, बेपत्ताहरुको अवस्था छिट्टै सार्वजनिक गर्ने र मृतक एवं बेपत्ताका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।
२) समानतामूलक नेपाली समाज निर्माण गर्ने ध्येयसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालित १० वर्षे महान् जनयुद्धको मालेमावादी विचार, क्रान्तिकारी प्रवृत्ति र जनवादी संस्कृतिको उपज अन्तरजातीय प्रेम र विवाह हो । यो सामाजिक रुपान्तरणको नमुना र प्रेम एवं विवाहसम्बन्धी नेपाली श्रमजीवि महिलाहरुको स्वतन्त्रताको प्रयोग पनि हो । आज चौरजहारी सोती हत्याकाण्डले नेपाली श्रमजीवि जनताले रगतको भेल बगाएर प्रेम र विवाहसम्बन्धी खडा गरेको जनवादी सांस्कृतिक मान्यताका विरुद्ध जेहाद मात्र छेडेको छैन, आफ्नो विवाहसम्बन्धी व्यक्तिगत स्वतन्त्रता र मानवअधिकार सुष्मा मल्लको पनि खोसेको छ । यो काण्ड हाम्रो पार्टीको निम्ति कुनै पनि हालतमा सैह्य छैन । उपरोक्त घटनाबाट के प्रस्ट हुन गएको छ भने अधुरो जनयुद्धले खडा गरेका मूल्य एवं मान्यताको रक्षाका निम्ति एकीकृत जनक्रान्ति र त्यसको पूर्णता अनिवार्य छ ।
३) चौरजहारी सोती हत्याकाण्डको प्रमुख पक्ष, दलाल पुँजीपतिवर्गको कथित संसदीय व्यवस्थाभित्र लुकेको सामन्ती, निरंकुशतावादी, उत्पीडित वर्ग, समुदाय, जाति एवं विरोधी चरित्र र सामन्ती ब्राह्मणवादी संस्कृतिको सक्कली अनुहार नेपाली जनताका सामु उदाङ्गिएको छ । यसर्थ, नेपाली उत्पीडितवर्ग, समुदाय, जाति र क्षेत्रका निम्ति आफ्नै वैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प अब रहेन ।
४) अन्त्यमा सोती हत्याकाण्डका अपराधीहरुलाई पत्ता लगाई कडा कारवाहीको दायरामा ल्याउन नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार एवं समाजसेवामा क्रियाशील संघ÷संगठन, बुद्धिजीवि र पत्रकारलगायत सबै क्षेत्रलाई हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।
५) चौरजहारी सोती हत्याकाण्डको तीव्रतामा निष्पक्ष छानबिन गरिएन र घटनालाई तोडमरोड गरी अपराधीलाई उन्मुक्ति दिने धृष्टता कुनै पनि पक्षबाट गरियो भने यो मुद्दा नेपाली श्रमजीवि जनताको जनअदालतमा प्रवेश गराउने कुरासमेत पार्टी स्पष्ट गर्न चाहन्छ । पार्टीलाई विश्वास छ, यस कार्यका निम्ति नेपालका सम्पूर्ण दलित समुदाय, उत्पीडित जाति, क्षेत्र र वर्गले नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग दिनेछन् । ”

प्रतिक्रियाहरु