चौधरी ग्रुपले नियोजित आगलागी गराएको ठहर

२०७५ बैशाख ३ गते, सोमबार

काठमाडौं, ३ वैशाख । चौधरी ग्रुपले आफ्नो गोदाममा नियोजित रुपमा आगलागी गराएर क्षतिभन्दा ५१ करोड रुपैयाँ बढी बीमा दाबी गरेको तथ्य बाहिर आएको छ । नेपालका धनाढ्य तथा विश्वकै अर्बपतिहरुको सूचीमा रहेका विनोद चौधरीको कम्पनी चौधरी ग्रुप (सिजी)ले भारतीय बीमा कम्पनी जनरल इन्सुरेन्स कर्पोरेशन (जिआइसी) सँग क्षतिभन्दा ५१ करोड रुपैयाँ बढी बीमा दाबी गरेको खुलासा भएको हो । २०६९ असोज २८ गते सतुंगलस्थित सिजी ग्रुपको गोदाममा आगलागी भएको थियो । सो आगलागीमा सिजी इलेक्ट्रोनिक्स, सिजी इम्पेक्स र इओएमा ३३ करोड ९५ लाख क्षति पुगेको बताइएको थियो । तर युनाइटेड इन्स्योरेन्ससँग सुरुमा सिजीले ८५ करोड रुपैयाँ दाबी गरेको पाइएको छ ।
चौधरी ग्रुपकै लगानी रहेको कम्पनी युनाइटेड इन्स्योरेन्सको भारतको मुम्बईस्थित जिआइसी इन्स्योरेन्ससँग पुनर्बीमा सम्झौता रहेको छ। प्रिमियमको केही प्रतिशत लिने सर्तमा नेपाली बीमा कम्पनीसँग विदेशी बीमा कम्पनीले ‘रिस्क कभर’ गरेबापत पुनर्बीमा सम्झौता गर्ने गर्छन्। जिआइसीसँग पैसा असुल गर्ने योजनाअनुसार नै युनाइटेड र चौधरी ग्रुपकै मिलेमतोमा नियोजित रुपमा सो आगलागी गराइएको ठहर बीमा सम्बन्धी नियामक निकाय बीमा समितिले गरेको छ।
बीमा समितिको छानबिन तथ्यले उक्त आगलागीबापत दाबी गरिने रकम युनाइटेडबाट नब्यहोरी सतप्रतिशत जिआइसीसँग मात्रै असुल गर्ने योजना बनाइएको उजागर गरेको छ । त्यतिबेला जिआइसीसँग ८५ करोड रुपैयाँ दाबीको योजना बनेको थियो । तर भारतीय कम्पनीले ठूलो परिमाणको रकम देखाउँदा विश्वास नगर्ने र छानवीन गर्न सक्ने देखिएपछि रकम घटाएर करिब ५९ करोडमा झारिएको अनुसन्धानबाट खुलेको हो । युनाइटेड इन्सुरेन्समा हाल चौधरी ग्रुपकाे १५ दशमलव ९६ प्रतिशत शेयर स्वामित्व छ भने सिजी फुड्सको नाममा १० दशमलव ७५ प्रतिशत शेयर स्वामित्व रहेको छ।
सो आगलागी र अस्वाभाविक बीमा दाबीलाई लिएर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा समितिलाई छानविन गर्न पत्र काटेको थियो। बिमा समितिले छानविन गर्दा क्षतिभन्दा बढी करिब २४ करोड रुपैयाँ भुक्तानी गरिसकेको पाइएको थियो । क्षतिभन्दा बढी असुल गरिएको २४ करोड रुपैयाँ फिर्ता गर्न समितिले युनाइटेडलाई पत्र लेखेको छ भने युनाइटेडलाई अबदेखि अग्नि बीमा र्गन समेत प्रतिबन्ध लगाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु