चोरीका सवारी साधनको अवैध कारोबार बढ्दो

२०७५ असार २५ गते, सोमबार

काठमाडौँ, २५ असार । कञ्चनपुरमा चोरीका सवारी साधनको अवैध कारोबार बढ्दै गएको छ । प्रहरीले चेकजाँचका क्रममा चोरीका सवारी साधन नियन्त्रणमा लिने गरे पनि चालकलाई कारबाही नगरी छाड्दा यसको अवैध कारोबार नियन्त्रण हुन नसकेको हो । विभिन्न ठाउँमा चेकजाँचका क्रममा चोरीका सवारीसाधन बरामद गरे पनि चोरी गर्ने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । चालू आर्थिक वर्षमा चेकजाँचका क्रममा विभिन्न ठाउँबाट चोरीका ५५ वटा मोटरसाइकल र दुईवटा कार बरामद गरी प्रहरीले गड्डाचौकी भन्सार कार्यालयलाई बुझाएको छ । यस्तै, गत आर्थिक वर्षमा चोरीका ९४ वटा मोटरसाइकल र १३ वटा कार भन्सारमा बुझाएको थियो ।
चोरीका सवारी साधन प्रयोग गर्नेहरुले चेकजाँचका क्रममा कागजात घरमै छुटेको बताउने गरेका छन् । आवश्यक कागजात लिन भन्दै विश्वासका आधारमा उनीहरुलाई छोड्दा मुख्य गिरोहसम्म पुग्न प्रहरी असफल हुने गरेको हो । चोरीका सवारी साधनको विस्तृत दस्तावेज नराखेकै कारण उनीहरु उम्किने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ज्ञानबहादुर सेठीले बताए ।
गत वर्षमात्रै कीर्ते कागजात बनाइ दर्ता गरिएका चोरीका सवारीसाधन किनबेच गरेको आरोपमा दुई जना पक्राउ परेका थिए । तीमध्ये कञ्चनपुरको भिमदत्त नगरपालिकाका हिमाल जोशी ४० हजार रुपैयाँ धरौटीमा छुटेका छन् भने गिरोहका नाइके भनिने कैलालीको भजनीका गोकुल श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरुले चोरीका सवारी साधनको कारोबारमा प्रहरीकै समेत संलग्नता रहेको आरोप लगाउने गरेका छन् । कञ्चनपुरका जिल्ला न्यायधिवक्ता खेमराज भट्टले सरकारी वकिलको कार्यालयमा गिरोहका नाइके गोकुल श्रेष्ठले चोरीका सावारीसाधन भित्र्याउने काममा प्रहरीका कर्मचारी नै संलग्न रहेको बयान दिए पनि पछि उनले अदालतमा बयान फेरेको बताए ।
प्रहरीले चेकजाँचका क्रममा चोरीका सवारीसाधन नियन्त्रणमा लिने गरे पनि भन्सार कार्यालयमा बुझाउँदा भने बेवारिसे अवस्थामा भेटिएको भन्दै उल्लेख गर्ने गरेको छ । गड्डाचौकी भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ७८ वटा सवारीसाधन लिलाम हुँदा २ करोड ३६ लाख ८७ हजार राजश्व संकलन भएको छ भने गत वर्ष १७ वटा सवारीधान ३२ लाख ७ सय ६९ राजश्व संकलन भएको थियो ।
यस्तै, चालू आवमा ६७ वटा सवारीसाधन भन्सार कार्यालयमा आइपुगेको गड्डाचौकी भन्सार कार्यालयका सूचना अधिकारी यज्ञराज जोशीले जानकारी दिए । चोरीका सवारी साधनको कारोबार बढ्दै जाँदा पनि प्रहरीले त्यसमा कडाई गरेर कारोबारीलाई पक्राउ गर्न नसक्नु दुःखद पक्ष हो । यसतर्फ सुरक्षाकर्मीले चासो नराखे भविष्यमा चोरीका सवारी साधनको कारोबार फस्टाउनेमात्र होइन, दुर्घटनाको जोखिमसमेत बढ्दै जाने देखिन्छ ।- दुर्गा उपाध्याय, इमेज

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार