चीन सरकारलाई ‘भद्र’ र ‘रुपसी’ प्रदान

२०७५ असार २८ गते, बिहीबार

काठमाडौं, २८ असार । नेपाल सरकारले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् । दुबै गैडा हिजो चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।
सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखेको छ । गैडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको अरु देशसँगको मित्रतालाई सुदृढ गर्दै लैजाने लक्ष रहेको बताए । यस कदमले चीनसँगको मित्रता झन् प्रगाढ हुने उनको विश्वास छ ।
वन्यजन्तु सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशिल रहेको पनि प्रधानमन्त्री ओलीले बताए । नेपाल भौगोलिक दृष्टिले सानो राष्ट्र भएपनि प्राकृतिक दृष्टिले अरुभन्दा धनी रहेको पनि उनले उल्लेख गरे ।
नेपालका लागि चीनका राजदुत यु हङले गैडाका लागि नेपालजस्तै चीनमा पनि अनुकुल वातावरण रहेको बताउदै उपहारमा प्राप्त गैडालाई आफ्नै परिवारसरह पालन पोषण गरिने बताए । नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६ सय ४५ वटा गैंडा छन् । चितवनमा मात्रै ६ सय ५ वटा गैंडा रहेको तथ्यांक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु